शिक्षकहरूको मार्गदर्शनमा गरिएको यो अभ्यासले विद्यार्थीलाई कृषि उद्यमप्रति आकर्षित गर्नुका साथै आत्मनिर्भर बन्ने सोच विकास गर्न सहयोग पुगेको विद्यालयहरूले जनाएका छन् ।
What you should know
डडेल्धुरा — जिल्लाका विद्यालयमा विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सीपतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको उद्यमशीलता विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम डडेल्धुरामा प्रभावकारी बन्दै गएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको उपयोग गर्दै विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित जिल्लाका तीन विद्यालयमा यो कार्यक्रम नमुनाका रूपमा सञ्चालन गरेको हो । ग्रामीण क्षेत्रका विद्यार्थीमा सीप विकाससँगै सकारात्मक सोच निर्माण गर्दै उनीहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्ने उद्देश्य लिइएको छ ।
कार्यक्रमले विद्यालयलाई किताबी ज्ञान दिने थलो मात्र नभई जीवनोपयोगी सीप सिकाउने केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताले परम्परागत शिक्षाले मात्र विद्यार्थीलाई आत्मनिर्भर बनाउन नसक्ने भएकाले व्यावहारिक सीप अनिवार्य रहेको बताए ।
कार्यक्रमअन्तर्गत भागेश्वर माध्यमिक विद्यालय, परशुराम नगरपालिका–१ सलौनका ६० जना विद्यार्थीले ४ क्विन्टल आँपको अचार बनाएका छन् । विद्यालयले उत्पादन गरेको अचारको बजारीकरणको तयारी भइरहेको प्रधानाध्यापक करवीर सिंह बोहराले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीले उत्पादन प्रक्रियासँगै आम्दानीसमेत गर्न थालेका छन् । त्यस्तै, सिद्धनाथ माध्यमिक विद्यालय, परशुराम नगरपालिका–१२ मा सञ्चालन गरिएको विद्युत् वायरिङसम्बन्धी सीपमूलक तालिमबाट ३५ जना विद्यार्थी लाभान्वित भएका छन् । यसले विद्यार्थीलाई व्यावहारिक सीप सिक्न थप अवसर प्रदान गरेको विद्यालयले जनाएको छ । किशोरावस्थामा सही मार्गदर्शन नपाउँदा विद्यार्थी लक्ष्यबाट विचलित हुने जोखिम रहने भएकाले यस्ता कार्यक्रमले उनीहरूको सीप, आत्मविश्वास र मनोबल वृद्धि गरेको सहभागी विद्यार्थीहरूको भनाइ छ ।
सहस्त्रलिङ माध्यमिक विद्यालय, राँईका विद्यार्थीहरूले पनि व्यावहारिक सीप विकासअन्तर्गत च्याउ खेती सुरु गरेका छन् । विद्यालय परिसरमै सञ्चालन गरिएको उक्त खेतीमार्फत विद्यार्थीले च्याउ उत्पादनको प्रविधि, व्यवस्थापन तथा बजारीकरणका आधारभूत ज्ञान हासिल गरिरहेका छन् । शिक्षकहरूको मार्गदर्शनमा गरिएको यो अभ्यासले विद्यार्थीलाई कृषि उद्यमप्रति आकर्षित गर्नुका साथै आत्मनिर्भर बन्ने सोच विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीले विद्यार्थीको रुचि र क्षमताअनुसार मार्गदर्शन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे । शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक गोपालदत्त पाण्डेयका अनुसार विद्यार्थीहरूले कक्षाकोठाको ज्ञानलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्ने अवसर पाएका छन्, जसले भविष्यमा स्वरोजगार र उद्यमशील सोच विकास गर्न सहयोग पुग्नेछ ।
