गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गन्यापधुरामा सञ्चालनमा आएको १० शय्याको अस्पतालले स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

असार ४, २०८३

तर्कराज भट्ट

10-bed basic hospital operational in Ganyapadhura

What you should know

डडेल्धुरा — गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । सरकारले २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति लिएपछि निर्माण सुरु भएको गन्यापधुराको अस्पताल अहिले एमबीबीएस चिकित्सकसहित सञ्चालनमा आएको हो।

गत वैशाख १६ देखि सेवा सुरु गरेको अस्पतालले जिल्लामै स्थानीय तहको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने पहिलो पालिकाको रूपमा पहिचान बनाएको छ। यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयले अब क्रमशः थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा गरेका छन्।

अस्पताल निर्माणका लागि तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर २०७९ पुस ७ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बजेट अभावमा समयमै काम सम्पन्न नहुने भएपछि निर्माण कार्यको म्याद २०८२ माघ २९ सम्म थप गरिएको थियो।

गाउँपालिकाका सव–इन्जिनियर केशव साहुका अनुसार अस्पतालको कुल लागत १५ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ। हालसम्म १३ करोड ३६ लाख ३३ हजार भुक्तानी भइसकेको छ भने १ करोड १९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। अस्पताल निर्माणको जिम्मा रुद्रवती–कालिका एसके जेभीले पाएको थियो।

अस्पताल सञ्चालनमा आएसँगै गन्यापधुरावासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम वा धनगढी धाउनुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षा गरिएको छ। स्थानीय तहमै चिकित्सकीय सेवा विस्तार हुँदा समय, खर्च र दुःख कम हुने विश्वास स्थानीयले गरेका छन्। स्थानीय चक्रबहादुर कार्कीले अस्पतालको सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि र उपकरण अनिवार्य रहेको बताए। हाल स्वास्थ्य चौकीबाट उपलब्ध हुने प्रकृतिका सेवामात्र सञ्चालनमा रहेकाले विस्तारै सबै रोगको उपचार हुने व्यवस्था भए स्थानीयलाई ठूलो राहत मिल्ने उनले बताए ।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई जना मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत छ। हाल एक जना मेडिकल अधिकृत, चार जना स्टाफ नर्स, दुई जना अहेबलगायत १३ कर्मचारीले सेवा दिइरहेका छन्। आवश्यक जनशक्ति क्रमशः थप्दै लैजाने उनले बताए।

अस्पतालमा चिकित्सकीय सेवा, बहिरंग, अन्तरंग, आकस्मिक, प्रयोगशाला, फार्मेसी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए। प्रारम्भिक चरणमा केही सेवा सीमित भए पनि उपकरण र जनशक्ति थपिएसँगै सेवा विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीका अनुसार गणेशपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो। अस्पताल सञ्चालन भएको करिब एक महिना मात्रै भएकाले क्रमशः सेवा विस्तार भइरहेको उनले बताए।

उनका अनुसार अस्पताल सञ्चालनसँगै संघीय सरकारबाट केही सहयोग प्राप्त भएको छ भने गाउँपालिकाले रेडियोग्राफरसहित आवश्यक प्राविधिक कर्मचारी व्यवस्थापनको तयारी गरिरहेको छ। ‘एमबीबीएस डाक्टर आएपछि बिरामी पनि अस्पतालमा आउन थालेका छन्,’ उनले भने, ‘आगामी दिनमा ल्याब, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्ड तथा अन्य डायग्नोस्टिक उपकरण थप गरी अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना रहेको छ।’

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. नमुना पुनका अनुसार अहिले दैनिक १५ देखि २० जनासम्म उपचारका लागि आउने गरेका छन्। अस्पतालमा सम्भव हुने बिरामीको उपचार यही भइरहेको र जटिल अवस्थाकालाई एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गरिएको उनले बताइन्।

हाल अस्पतालमा मौसमी ज्वरो, झाडापखालालगायतका बिरामी बढी आउने गरेका छन्। ल्याब, प्रसूति, सामान्य स्वास्थ्य परीक्षणलगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र ईसीजी सुविधा भने अझै उपलब्ध नभएको उनले बताइन्।

सरकारले २०७७ सालमा ल्याएको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि १० शय्याका अस्पताल निर्माण सुरु गरिएको थियो। तर ती पालिकामा भने निर्माण कार्य अझै पूरा हुन सकेको छैन। बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक कारणले काम प्रभावित हुँदै आएको सम्बन्धित निकायहरूले बताउँदै आएका छन्।

तर्कराज

Link copied successfully