ढकारी गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी साउदले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर चरित्र हत्या गर्दै मर्न बाध्य पारिएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा लाइक, भ्युज र चर्चित बन्ने लोभमा चरित्र हत्या गर्ने काम गरिएको छ ।’
काठमाडौँ — ३१ जेठ । दिउँसो ५ बजेतिर । अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडासदस्य मनिसा साउद घरबाट ५ सय मिटर नजिकैको जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिइन् । उनको मृत्यु किन र कसरी भयो ? प्रहरी अनुसन्धानबाट फेला परेको पछिल्लो तथ्यले उनको मृत्युका केही कारण मात्रै बाहिर ल्याएको छैन, त्यसमा कस्ता मानिसको संलग्नता थियो भन्ने नयाँ तथ्य समेत बाहिर ल्याएको छ ।
प्रहरी अनुसन्धानले आत्महत्याको दुई दिनअघि मनिसालाई गाउँकै केही व्यक्तिले घरभित्रै घेरेर नियन्त्रणमा लिएका थिए । उनीसँगै रहेका एक पुरुषसँगको सम्बन्धको आरोप लगाउँदै घरभित्रको भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनको चरित्रमाथि प्रश्न गरेका थिए । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ओमप्रकाश खनालले भने, 'त्यो राति मनिसाको घरमा वडाका वर्तमान जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि तथा अगुवाहरू नै पुगेको देखियो ।'
कतिसम्म भने व्यक्तिको घरभित्रै छिरेर नियन्त्रणमा लिने घटनाबारे प्रहरीमा जाहेरी नदिई वडा कार्यालयमै मिलाउने विषयमा जनप्रतिनिधि नै संलग्न भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनासम्बन्धी फोटो, भिडियो तथा छलफल सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक अपमान सहन नसकेर मनिसाले आत्महत्या गरेको हुनसक्ने देखिन्छ ।
घरभित्र एक हुल मानिस छिरेर फोटो र भिडियो खिचेको भोलिपल्ट वडा कार्यालयमा मनिसा र उनीसँगै रहेका पुरुषलाई पनि छलफलका लागि डाकिएको थियो । त्यसको भोलिपल्ट मनिसा घरबाट बेपत्ता भएकी थिइन् । त्यसपछि मात्रै नम्बर ४ का वडाध्यक्ष पहलवान थापाले ढकारी प्रहरी चौकीमा मनिसा बेपत्ता भएको भन्दै उजुरी दिएका थिए । त्यसपछि मनिसाका ससुराले पनि बुहारीको खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिए । डीएसपी खनालका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेश रिमालको कमान्डमा जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरी अनुसन्धानपछि मात्रै मनिसाको घर नजिकैको जंगलमा मृत फेला परेको विषय सार्वजनिक भएको थियो ।
यसलगत्तै मनिसाका छोराले आमाको आत्महत्या अघिको पृष्ठभूमिसमेत समेटेर प्रहरीमा जाहेरी दिएका थिए । मृतकका छोराले दिएको किटानी जाहेरीमा धर्मराज साउँदमाथि मनिसालाई जबर्जस्ती करणी गरेको र मानसिक तनाव दिई आत्महत्या दुरुत्साहन गरेको आरोप छ । साउँदलाई शव भेटिएलगत्तै असार १ गते बिहान प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जाहेरीमा वडाध्यक्ष पहलवान थापामाथि सामूहिक रूपमा चरित्र हत्या गरी आत्महत्या दुरुत्साहन गरेको अभियोग छ । प्रहरीले वडाध्यक्ष थापालाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत अछामबाट दुवै आरोपीहरूलाई अनुसन्धानका लागि सात दिनको थुना म्याद अनुमति लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । जिल्ला अस्पताल अछामबाट शवको पोस्टमार्टम सम्पन्न भएपछि भारतबाट फर्किएका मृतकका श्रीमान्ले शव बुझिलिएका छन् ।
‘ती महिलासँग नाम जोडिएका पुरुषमाथि जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । वडा अध्यक्ष थापामाथि उक्त घटनाको बारेमा गाउँमा छलफल गरेको, जिम्मा लिएको र चरित्र हत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ,’ डीएसपी खनालले भने, ‘उनको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने ९ वटा अकाउन्ट पत्ता लागिसकेका छन् । यसै आधारमा अनुसन्धान अगाडि बढेको छ ।’
मृतक मनिसाका काका एवं पूर्व वडाध्यक्ष भक्त बुढाले जेठ २८ को राति के भएको थियो भनेर कान्तिपुरलाई बताए । उनले त्यस रात आफूलाई वडाध्यक्ष पहलवान थापाले फोन गरेर ‘रंगेहात फेला परेको’ बताउँदै आफूलाई मोटरसाइकलमा राखेर मनिसाको घरसम्म पुर्याएको बताए । उनले भने, ‘म त्यहाँ पुग्दा रातिको १२ बजेको थियो । गाउँभरका सयौं स्थानीय जम्मा भइसकेका थिए । कसैले प्रहरीलाई खबर गर्नुपर्छ भने त कसैले वडा कार्यालयले नै यसको जिम्मा लिनुपर्छ भने ।’
बुढाले आफूले दुवै जनालाई तत्काल प्रहरीको जिम्मा लगाउनुपर्ने अडान राखे पनि वडाध्यक्ष थापाले नमानेको बताए । उनले भने, ‘वडाध्यक्ष थापाले महिलाका श्रीमान् नआउँदासम्म सात दिनका लागि आफैंले जिम्मा लिने बताउँदै महिला र पुरुष दुवैलाई भाग्न नदिने र जिउज्यानको सुरक्षाको जिम्मा लिने बताए ।’ बुढाले त्यस रात कानुनी आधारका लागि लिखित कागज गर्ने छलफल भए पनि अन्ततः कागज भने तयार नगरिएको बताए । उनले वडाध्यक्षले जिम्मा लिएको प्रमाण सुरक्षित राख्नका लागि आफूले भिडियो बनाउनुपर्छ भने पनि त्यसको दुरुपयोग भएको बताए । उनले भने, ‘मैले भिडियोलाई सामाजिक सञ्जालमा हाल्न नहुने सर्त राखेको थिएँ । विडम्बना, त्यो भिडियो बाहिरिएर चरित्र हत्या गरियो ।’
ढकारी गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी साउदले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर चरित्र हत्या गर्दै मर्न बाध्य पारिएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा लाइक, भ्युज र चर्चित बन्ने लोभमा चरित्र हत्या गर्ने काम गरिएको छ ।’
