सत्ता साझेदार दलकै प्रभावशाली सांसदहरुले आफ्ना सिफारिसका आयोजना थप्न दबाब दिएपछि सोमबार साँझसम्म पनि बजेट निर्माणले अन्तिम रुप लिन सकेन ।
धनगढी —
सत्तारुढ दलका सांसदहरुबीच बजेट भागबण्डामा सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ । साँझ ५ बजे बजेट पेस गर्ने कार्यसूची निर्धारण गरिए पनि उक्त समयमा बजेट आउन नसक्ने भन्दै सरकारले प्रदेशसभा सचिवालयसँग राति नौ बजेसम्मका लागि समय सार्न माग गरेको सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव देबबहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि लागि पत्र पठाएको छ । तर सचिवालयका अर्का एक अधिकृत राति ९ बजे पनि बजेट आउने यकिन नभएको बुझिएको बताउँछन् ।
सुदूरपश्चिम सरकारले आइतबारसम्मको तयारीमा हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको थियो । तर सोमबार बिहान सत्ता साझेदार दलकै प्रभावशाली सांसदहरुले आफ्ना सिफारिसका आयोजना थप्न दबाब दिएपछि सोमबार साँझसम्म पनि बजेट निर्माणले अन्तिम रुप लिन नसकेको बजेट निर्माणमा संलग्न एक अधिकारीले बताए । आफ्ना अनुकूलका आयोजना समावेश गराउन सत्तारुढ दलका सांसदहरुबीच तीव्र बार्गेनिङ चलिरहेकाले एक सांसदले बताए ।
कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह दुई दल मिलेर पनि सुविधाजनक बहुमतमा नभएकाले बजेट बार्गेनिङको दबाबमा परेका हुन् । हालै मात्र शाहको दल कांग्रेसकै सांसदहरुले संसदीय दलमा अविश्वास प्रस्ताव पेस गरेका थिए । बहुमतका लागि २७ जना आवश्यक हुन्छ, कांग्रेसका १७ र एमालेका ११ सांसद छन् ।
एमाले सांसदहरु सोमबार बिहानैदेखि आन्तरिक बैठकमा छन् ।
सरकार बिहानसम्म चालु आर्थिक वर्षको बजेटमा करिब ७ अर्ब बढाएर आगामी आर्थिक वर्ष ०८३/८४ का लागि साढे ३८ अर्बको बजेट ल्याउने तयारीमा पुगेको थियो । तर सत्ता साझेदार एमालेले थप बजेटको माग गरेपछि बजेट अन्योलमा परेको हो । चालु आर्थिक वर्षमा सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड, ९८ लाखको बजेट ल्याएको थियो ।
सरकारले यसअघिको तयारीमा पनि बढाएर प्रत्यक्षतर्फका सांसदलाई सात करोड र समानुपातिकतर्फकालाई पाँच करोडको एकमुष्ट भागहिस्सा बजेट दिएको थियो । त्यसबाट सांसदहरुलाई उनीहरुका रोजाइका आयोजना सिफारिस मागेको थियो । केही सांसदहरुले उक्त भागमा पनि चित्त नबुझाएपछि मुख्यमन्त्री कमलबहादुर शाह दबाबमा परेको बजेट निर्माणमा संलग्न एक पदाधिकारीले बताए । ‘सत्तारुढ दलका प्रभावशाली सांसदहरुले यही बजेट अन्तिम हो भन्ने मनोविज्ञानमा बार्गेनिङ गरे,’ ती पदाधिकारीले भने, 'स्रोत सीमित छ । बजेटको आकार मात्रै बढाउने आधार पनि भएन ।’
सोमबार बिहान सत्ता साझेदार एमालेले सरकार छाड्नेसम्मको जानकारी मुख्यमन्त्रीलाई दिएको एक सांसदले बताए ।
अर्कोतिर सुदूरपश्चिममा एक साताअघि आन्तरिक भागबण्डा गर्दै मन्त्रीपरिषद् हेरफेर गरिएका कारण पनि बजेट निर्माणको पूर्ववत प्रक्रिया बिथोलिएको थियो । आर्थिक मामिलामन्त्री रहेका कांग्रेसका बहादुरसिंह थापाको ठाउँमा कांग्रेसकै बिक्रमसिंह धामी मन्त्री नियुक्त भएका थिए ।
