महाकालीमा चार लेनको पक्की पुल

गाइडबन्ड जोगाउन च्यानलाइजेसन र बोल्डर ढुंगाको बाँध बनाइने ।

जेष्ठ २७, २०८३

भवानी भट्ट

Four-lane concrete bridge on Mahakali

What you should know

कञ्चनपुर — महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको गाइडबन्ड नजिकै अहिले ग्राभेल भर्ने काम चलिरहेको छ । दुई वर्षअघिको बाढीले भत्काएको उक्त क्षेत्रमा नदी निकै गहिरो भएको छ । सोही गहिरो भागमा ग्राभेल भरेर ठूलो ढुंगा (बोल्डर)को बाँध बनाइने भएको हो । 

‘नदीले फेरि कटान नगरोस् भनेर बोल्डर ढुंगाको बाँध बनाउन लागिएको हो,’ महाकाली पुल योजनाका प्रमुख राजेश यादवले भने, ‘अहिले ग्राभेलले गहिरो भाग भरिरहेका छौं, त्यसपछि ग्राभेलमाथि बोल्डर ढुंगा राखेर बाँध बनाइनेछ ।’ उनका अनुसार बाँध निर्माणका लागि नदीको धार पनि परिवर्तन गरिएको छ । 

करिब ४ सय मिटरमा च्यानलाइजेसन गरेर नदीको धार परिवर्तन गरिएको हो । यसका लागि ४६ लाख बजेट छुट्याइएको छ । यसैगरी बोल्डर ढुंगाको बाँध र गाइडबन्डको उत्तरतिर स्पर निर्माणका लागि ८५ लाख बजेट छुट्याइएको छ । 

गाइडबन्ड कटान गरेको क्षेत्रमा नदी करिब १० मिटर गहिरो छ । उक्त गहिरो खाल्डो भरेर मात्रै बोल्डर राखिने योजना प्रमुख यादवले बताए । उनका अनुसार बोल्डर ढुंगाको प्रयोग गरेर सय मिटर लम्बाइको बाँध निर्माण गरिने छ । 

‘असार १५ भित्रै सक्ने लक्ष्य राखेका छौं, तर नदीमा पानी बढेर नियमित काम गर्न गाह्रो भएको छ,’ यादवले भने, ‘च्यानलाइजेसन गरेर धार परिवर्तन गरिए पनि केही मात्रामा पानी सोही क्षेत्रमा बगिरहेको छ, जसले काममा बाधा पुर्‍याइरहेको छ ।’ अहिले पुल योजनाले आफ्नै उपकरण प्रयोग गरेर काम गरिरहेको छ ।

गत वर्ष पनि भत्केको गाइडबन्ड मर्मतको काम नेपाली सेनामार्फत जेठ/असारमै गरिएको थियो । उक्त क्षेत्रलाई बाढीजन्य विपदको संकटग्रस्त क्षेत्र घोषणा गरेर सेनामार्फत काम गरिएको हो । यसपटक पनि वर्षभरि बेवास्ता गरेर बर्खायामको मुखमा काम भइरहेको छ । 

महाकाली पुल योजनाअन्तर्गत निर्माण भएको गाइडबन्डको नयाँ डिजाइन स्विकृत र भेरिएसनको काम नभएका कारण हालसम्म योजनाको काम अलपत्र परेको पुल योजनाको भनाइ छ । दुई वर्षअघि बाढीले भत्काएपछि गाइडबन्डको डिजाइन परिवर्तनको कुरा उठेको थियो ।

महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको लम्बाइ ८ सय मिटर छ । उक्त क्षेत्रमा महाकाली नदीको चौडाइ २ किलोमिटर हाराहारी छ । बीच भागमा पुल र दुवैतर्फ ६/६ सय मिटर चौडाइ र २८ सय मिटर लम्बाइका पोखरी निर्माण गरिएको छ । पोखरीको नदी किनारको गाइडबन्डको डिजाइनमै अल्झन भएका कारण हालसम्म योजना नै अलपत्र परेको हो । 

सुरुमा तयार पारिएको डिजाइनअनुसार गाइडबन्डमा बोल्डर ढुंगाको प्रयोग गर्नुपर्ने थियो । तर, निर्माण कम्पनीले बोल्डर ढुंगा नपाएपछि डिजाइन परिवर्तन गरेर प्लम्ब कंक्रिटको बनाइयो । तर उक्त डिजाइन विभागबाट स्विकृत भएन । मौखिक सहमतिका आधारमा भेरिएसन पनि नभई निर्माण कम्पनीले काम गर्‍यो । महाकालीको बाढीले गाइडबन्ड भत्काएपछि फेरि डिजाइन परिवर्तनको कुरा उठ्यो । 

त्यसपछि विभागले नयाँ डिजाइन तयार पार्‍यो । उक्त डिजाइन पनि स्विकृत हुन नसक्दा अझै काम के हुने भन्ने अन्योल रहेको छ । विभागले पुल निर्माण कम्पनी कुरमा श्रेष्ठ सीएफईसी जेभीसँग ठेक्का सम्झौता तोडेको छ । यद्यपि, उक्त विवाद मध्यस्थता काउन्सिलमा विचाराधीन अवस्थामा छ । पुनरावेदन अदालतले पनि ठेक्का तोड्ने विषयमा स्टे अर्डर जारी गरेको छ । 

‘अहिले बाँकी काम सम्पन्न गर्न र आकस्मिक काम गर्नका लागि बजेट आएको छ तर समय अभावका कारण अहिले काम गर्न सकिने अवस्था छैन,’ योजना प्रमुख यादवले भने, ‘अब बर्खापछि नयाँ ठेक्का लगाएर पुल निर्माणको काम सकिनेछ ।’ उनका अनुसार पुलको काम सम्पन्न गर्न ८ करोड बजेट छुट्याइएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully