पुलले जोडिए साइपालका दुई गाउँ

तारेकोट खोलामा बनेको ९० मिटर लामो झोलुङे पुलले बलौडी र न्यूना गाउँलाई जोडेपछि वर्षौंदेखिको जोखिम हटेको छ।

जेष्ठ २६, २०८३

वसन्तप्रताप सिंह

Two villages in Saipal connected by bridge

What you should know

बझाङ — साइपाल गाउँपालिका–५ का दुई वटा गाउँ झोलुङे पुलमार्फत जोडिएका छन् । बलौडी र न्यूना गाउँको बीचमा पर्ने तारेकोट खोलामा झोलुङे पुल निर्माण भएको हो । 

पुल नहुँदा बर्षातको बेलामा यी दुई गाउँ बीचको भौतिक सम्पर्क समेत बिच्छेद हुने गरेको थियो । ‘बर्खामा खोला तर्न नसकेर दुई गाउँको सम्पर्क नै हुन्थेन,’ न्यूनाका उमेश बोहराले भने, ‘भीरको बाटो झण्डै आधा घण्टा ओरालो झरेर आधा घण्टाको उकालो चढ्नु पथ्र्याे । पुल बनेपछि धेरै सजिलो भएको छ ।’ 

९० मिटर लामो उक्त पुल गैर सरकारी संस्था कादुरी एग्रिकल्चरल एड एसोसिएसन तथा ब्रिटिस गोर्खाज नेपालको सहयोगमा निर्माण गरिएको हो । सोमबारबाट प्रयोगमा आएको उक्त पुलको उद्दघाटन गर्दै साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले वर्षौंदेखि जोखिमपूर्ण बाटो प्रयोग गर्दै आएका स्थानीयले अब सुरक्षित रूपमा आवतजावत पाउने बताइन् ।

‘भीर डरलाग्दो  बाटो एक गाउाबाट अर्काे गाउा जानु पर्दा गएको मान्छे फर्किन्छ की फर्किदैन भनेर चिन्ता मान्नु पर्ने अवस्था थियो । अब यी दुई गाउँको दिनचर्या जोखिममुक्त भएको छ,’ उनले भनिन, ‘पुल भए पनि बाटो सजिलो र सुरक्षित त भएको छ नै । अब दुई गाउँ बीचको निरन्तर सम्पर्क, शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधि पनि बढ्ने छ ।’ उनले वर्षायाममा जोखिम लिएर खोला तर्नुपर्ने समस्या हटेकाले विद्यार्थी, महिला, ज्येष्ठ नागरिक तथा बिरामीलाई ठूलो राहत पुगेको बताइन् । 

एउटै वडामा पर्ने यी दुई गाउँको वडा कार्यालय न्यूना गाउँमा छ । वडा कार्यालयबाट लिनुपर्ने सिफारिस, घटना दर्ता, घरजग्गा कारोबार जस्ता सुविधा लिनका लागि बलौडीका स्थानीयले न्यूना नै पुग्नु पर्ने भएकोले पुल नहुँदा निकै समस्या झेल्नु परिरहेको थियो । ‘यो पुल बनेपछि न्यूना भन्दा पनि बलौडी गाउँकालाई बढी सुविधा भएको छ,’ बलौडीका स्थानीय बम्म बोहराले भने, ‘सामाजिक सुरक्षा भत्ता खाने वृद्धवृद्धालाई बर्खामा भीरको साँघुरो र चिप्लोबाटोमा बोकेरै लैजानु पर्ने, खोला बढेको बेला वडाको सिफारिस पनि ल्याउन नसक्ने अवस्था थियो । अहिले बाटो छोटो र सुरक्षित भयो ।’ वडा ५ को मतदान केन्द्र रहेको याराङकुरीङ डाँडा जाँदा पनि यही खोला तरेर भीरको जोखिमपूर्ण बाटो हिँड्नु पर्ने समस्याबाट पनि पुल बने पछि बलौडीबासीले मुक्ति पाएको उनले सुनाए । 

यो पुल निर्माण भए पछि न्यूनाका स्थानीयलाई बलौडी मात्रै नभएर वडा ४ मा पर्ने धुलीगाउँसम्म आवतजावतमा सजिलो भएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । ‘धुली, न्यूना र बलौडी गाउँका मानिसबीच बैवाहिक सम्बन्ध छ । बाटो सजिलो नभएका कारण कोही आफन्त विरामी पर्दा भेटघाट गर्न पनि गाह्रो थियो,’ उनले भने, ‘अब पुल बने पनि एक अर्काे गाउँ बीचको सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध र पहुँच सजिलो भएको छ ।’ 

१ करोड ६७ लाख ८३ हजारको लागतमा ०८२ माघबाट निर्माण सुरु भएको उक्त पुल चार महिनामै सम्पन्न गरिएको कादुरी एग्रिकल्चरल एड एसोशिएसन प्राविधिक निर्देशक नारायण गुरुङले जानकारी दिए । हङकङको एक व्यवसायिक परिवारको व्यक्तिगत सहयोगमा उक्त पुलको निर्माण गरिएको जानकारी दिँदै उनले साइपाल गाउँपालिकामै रहेको बझाङको उत्तरी क्षेत्रको अन्तिम मानवबस्ती धुलीमा १०० किलोवाटको विद्युतसमेत निर्माण भइरहेको बताए । ‘दुर्गम क्षेत्रका बासिन्दाको जनजीवन सहज बनाउन कादुरी परिवारले लामो समयदेखि सहयोग गरिरहेको छ । त्यही अन्तरगत साइपालमा पुल र विद्युत निर्माण गरेका हौं,’ उनले भने । बझाङकै मष्टा गाउँपालिकाको पुल र खानेपानी निर्माणमा पनि कादुरी परिवारले सहयोग गरिरहेको उनले बताए । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully