डडेल्धुरामा चौलो नाच प्रदर्शन

सुदूरपश्चिमको वीरता, साहस र सांस्कृतिक गौरव झल्काउने चौलो नृत्यको प्रदर्शनले विद्यालय परिसर नै सांस्कृतिक रंगमञ्चमा परिणत भएको थियो ।

जेष्ठ २६, २०८३

तर्कराज भट्ट

Chaulo dance performance in Dadeldhura

What you should know

डडेल्धुरा — सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको महत्त्वबारे जानकारी गराउने उद्देश्यले डडेल्धुरामा चौलो नाच प्रदर्शन गरिएको छ । 

नाङ्गो खुकुरी र तरबारसहित सोमबार प्रस्तुत गरिएको चौलो नाचले विद्यार्थी तथा उपस्थित दर्शकको ध्यानाकर्षित गरेको थियो । सुदूरपश्चिमको वीरता, साहस र सांस्कृतिक गौरव झल्काउने यस नृत्यको प्रदर्शनले विद्यालय परिसर नै सांस्कृतिक रंगमञ्चमा परिणत भएको थियो । 

कार्यक्रममा हुड्केली गीतसमेत प्रस्तुत गरिएको थियो । हुड्केको तालमा गाइने लोकभाकाले यहाँको सामाजिक जीवन, इतिहास र संस्कृतिलाई उजागर गरेको थियो । पछिल्लो समय आधुनिकतासँगै मौलिक संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत कला र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने डोटेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले बताए ।

'संस्कृति पुस्तान्तरणको आवश्यकता छ,' उनले भने । नयाँ पुस्ताले आफ्ना मौलिक परम्परा बिर्संदै गएकामा उनले चिन्ता पनि व्यक्त गरे । ‘पुर्खाले सिर्जना गरेका सांस्कृतिक सम्पदा र पौरखका प्रतीकलाई संरक्षण गरेर भावी पुस्तासम्म पुर्‍याउनुपर्ने जरुरी छ,’ उनको भनाइ थियो ।  

आफ्नो संस्कृति जोगाउन नसके आफ्नो पहिचान नै कमजोर बन्ने उनले बताए । उनले पुर्खाले छाडेर गएका कला, संस्कार र परम्परालाई पुस्तान्तरण गर्नु आजको आवश्यकता रहेको बताए । विद्यालय तहबाटै यस्ता संस्कृतिबारे जानकारी दिन सके युवा पुस्तामा आफ्नो मौलिकताप्रति गर्वको भावना विकास हुने उनको भनाइ थियो । 

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेले स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सुदूरपश्चिमका मौलिक कला, बाजा र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी पनि दिए । 

‘हुड्केली गीत, चौलो नाच र यहाँका मौलिक बाजा अमूल्य सांस्कृतिक सम्पदा भएकाले यी परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ,’ उनले भने । 

पछिल्ला वर्षमा आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढ्दै जाँदा परम्परागत कला र संस्कृति ओझेलमा पर्ने जोखिम बढेको छ । यस्तो अवस्थामा विद्यालय केन्द्रित सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति संरक्षणका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने महत्त्वपूर्ण माध्यम बन्न सक्ने विद्यालयका प्रिन्सिपल हर्केश साँकीले बताए ।

क्याम्ब्रिज पब्लिक स्कुलमा आयोजित कार्यक्रममा जिल्लाको प्रसिद्ध कैलपालमाडौं क्षेत्रको चौलो नाच प्रदर्शन गरिएको हो । गाउँघर मिडिया हाउसको आयोजना तथा सामाजिक विकास कार्यालय डडेल्धुराको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय मौलिक बाजाको धुनसँगै चौलो नाच प्रस्तुत गरिएको हो ।

तर्कराज

Link copied successfully