कृषि पढेर तरकारी खेतीमा चौधरी दम्पती

विदेशको रोजगारी छाडेर आफ्नै गाउँमै तरकारी खेती गरेर स्थानीय युवाहरु राम्रो आम्दानी गरिरहेका छन् ।

जेष्ठ २५, २०८३

भवानी भट्ट

Chaudhary couple turns to vegetable farming after studying agriculture

What you should know

कञ्चनपुर — बेलौरी नगरपालिका–५ की ईश्वरी चौधरी कृषि विज्ञानमा १२ कक्षा पास गरेर अहिले आफै कृषि कर्ममा लागेकी छिन् । उनले गाउँमै जमिन भाडामा लिएर मौसमी र बेमौसमी तरकारी खेती गरिरहेकी छिन् ।  

चौधरीले करिब एक विघामा तरकारी खेती गरेकी छिन् । अहिले उनको बारीमा काक्रा, लौका, फर्सी, करेला, बोडीलगायतका तरकारी फलेका छन् । बिहान आफै तरकारी टिपेर उनी स्थानीय बजारमा बिक्री गर्छिन् । त्यसपछि घर फर्केर त्यही बारीको गोडमेलमा जुटछिन् । ‘कृषि विषय पढेपछि नौकरी गर्नुपर्छ भन्ने थियो, घरमै तरकारी खेती गरेर रमाएकी छु,’ चौधरीले भनिन्, ‘यही तरकारी बेचेर घरपरिवारको खर्च चलाउन पुगेको छ ।’ उनले सिजन अनुसार तरकारी उत्पादन गर्छिन् । मुख्यत: दुई सिजन भए पनि उनको बारीमा बाह्रै्र महिना केही न केही तरकारी फलेकै हुन्छ । एक सिजनमा डेढ/दुई लाख रुपैयाँसम्म बचत भइरहेको उनले बताइन् । 

उनका श्रीमान् दिपक पनि कृषि जेटीए हुन् । गैरसरकारी संस्थामा कार्यरत श्रीमान्ले पनि तरकारी खेतीमा सघाउने गरेका छन् । ‘तरकारी बेच्न टाढा जानै पर्दैन, घरबाटै र स्थानीय बजारमा बिक्री भइहाल्छ,’ चौधरीले भनिन्, ‘बेलौरी बजारमै साइकलमा लगेर तरकारी बिक्री गर्छु, बेर्ना पनि बिक्री गर्छु ।’

ईश्वरी जस्तै कृष्णपुर नगरपालिका–४ किचाईका सुकराम रानाले पनि तरकारी खेतीबाटै परिवार पालेका छन् । उनले पनि १५ कट्ठामा तरकारी खेती गरिरहेका छन् । त्यसैबाट चार जनाको परिवारको खर्च चलाएका छन् । हिउँदे, बसन्ते र बर्खे गरी तीन सिजनमा उनले तरकारी उत्पादन गर्दै आएका छन् । 

अहिले उनको बारीमा बढी, काक्रा, लौका र करेला फलेका छन् । उक्त तरकारी उनले कृष्णपुरकै गुलरिया र कैलालीको अत्तरियासम्म पुगेर बिक्री गर्छन् । उत्पादन धेरै भएमा महेन्द्रनगरसम्म पनि पुग्ने गरेका छन् । 
रानाले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । सुरुमा सानो मात्रामा तरकारी लगाएका उनले बिस्तारै बढाउँदै लगेर अहिले १५ कट्ठामा पुर्‍याएका छन् । यसबाट उनले वर्षमा चार/पाँच लाखसम्म आम्दानी गर्छन् । ‘तरकारीले छोराछोरीको पढाई र घरको खर्च चलेको छ,’ चौधरीले भने, ‘अहिले बिक्री गर्न पनि समस्या छैन, जति उत्पादन गरे पनि बिक्री हुन्छ, बेमौसमी तरकराी उत्पादन गर्न सके अझ बढी फाइदा हुन्छ ।’ त्यही भएर उनी बेमौसमी तरकारी उत्पादनमा बढी मिहनेत गर्छन् । 

बेदकोट नगरपालिका–५ का सेमलाल राना पनि भारतबाट फर्केर तरकारी खेतीमा लागेका छन् । चार वर्ष दिल्ली र बेंग्लोरमा मजदुरी गरेर फर्केका उनी त्यसपछि घरमै तरकारी खेतीमा जुटेका हुन् । ‘इण्डिया भन्दा त यही राम्रो छ, आफ्नो काम गरेर बस्न पाइएको छ,’ रानाले भने, ‘आम्दानी पनि इण्डियाको भन्दा बढी भइरहेको छ ।’ उनले पनि बाह्रै महिना तरकारी उतपादन गरिरहेका छन् । उत्पादन भएको तरकारी स्थानीय बजार दैजी र महेन्द्रनगरसम्म पुगेर बिक्री गर्दै आएका छन् । ‘अब बाँसको टनेल बनाएर बर्खे तरकारी उत्पादन गर्ने तयारीमा छु,’ रानाले भने । तरकारी खेतीमा राना एक्लै होइनन् उनको पूरै परिवार लागेको हुन्छ । त्यही भएर त उत्पादन पनि राम्रो भइरहेको छ । 

तरकारी खेती गर्ने युवाहरुलाई कृषि ज्ञान केन्द्र कञ्चनपुरले खनजोतका लागि ५० प्रतिशत अनुदानमा मिनि पावर ट्रिलरसँगै बेर्ना र मल तथा टनेल निर्माणमा पनि सहयोग गर्दै आएको छ । यस वर्ष पनि ३६ जनालाई सहयोग गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण अधिकृत मदन भट्टले बताए । उनका अनुसार यसरी सहयोग पाउनेमा कतिपय वैदेशिक रोजगारीबाट फर्केका पनि छन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully