डडेल्धुराको स्याउले चोकमा स्थानीय महिलाले सिजनअनुसारका फलफूल बेचेर घरखर्च चलाइरहेका छन्।
What you should know
डडेल्धुरा — याक्रु बोकेका बस र माइत्रो रोकिनासाथ भीमदत्त राजमार्गको स्याउले चोकमा हातमा टोकरी, डालो र प्लास्टिकका झोलामा प्लाष्टिकका झोला बोकेका महिलाहरु झुम्मिन आइपुग्छन् । गाडीबाट ओर्लिने र चढ्ने यात्रुलाई घेर्दै महिलाहरू आफ्ना टोकरी, डालो र प्लास्टिकका झोलामा फलफूल देखाउन व्यस्त हुन्छन् ।
यतिबेला कसैका टोकरीमा काफल छन् भने कसैले प्लाष्टिकका झोलामा आल्चा र आरु राखेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइ जोड्ने मुख्य बाटो भीमदत्त राजमार्गमा रहेको डडेल्धुराको स्याउले चोकमा वर्षैभरी सिजन अनुसारका स्थानीय फलफूलको व्यापार हुने गरेको छ ।
अछाम, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला र डडेल्धुराबाट तराइ झर्ने यात्रुको मुख्य विश्रामस्थलका रूपमा रहेको यो बजार पछिल्ला वर्षमा स्थानीय फलफूलको व्यापार केन्द्रका रूपमा पनि स्थापित भएको छ । स्याउलेबाट डोटी, अछाम, बाजुरा र बैतडी, बझाङ र दार्चुला जाने बाटो छुट्टिन्छ ।
अहिले पहाडमा काफल उत्पादन हुने सिजन हो । वैशाखदेखि करिब असार पहिलो सातासम्म यो बजारमा काफल पाइने गरेको छ । आल्चा, आरु, नासपाती, ओखर, सुन्तलालगयात सिजन अनुसार पहाडमा उत्पादन भएका फलफूलको व्यापार हुने गरेको छ । यहाँ डडेल्धुराको भागेश्वर, चुल्लसिराडलगायतका क्षेत्रमा उत्पादन भएका सुन्तला र जुनारदेखि दार्चुलाको ओखर, बझाङको भाङोसमेत बिक्री हुने गरेको छ । स्थानीय उत्पादनसँगै बाहिरी जिल्लाबाट ल्याइएका फलफूल पाइने भएकाले स्याउले बजार वर्षभरि चहलपहल हुने गरेको छ ।
प्रायः घरका स्थानीय महिलाहरू बिहान सबेरै घरबाट निस्किन्छन् । कोही जंगलतिर लाग्छन्, कोही फलफूल खरिद गर्न गाउँतिर पुग्छन् । जंगलमा प्रशस्त पाइने काफल टिपेर ल्याउने र यात्रुलाई बेच्ने काम उनीहरूको दैनिक दैनिकी बनेको छ । तराइ झर्ने हरेकजसो यात्रुले यो सिजनमा यहाँको काफल नलगी जाँदैनन् ।
स्थानीय व्यवसायी देवी ठगुन्ना वर्षौंदेखि यही पेशामा संलग्न छिन् । उनले सिजन अनुसार फलफूल बेच्ने गरेकी छिन् । अरु फलफूल भन्दा छिट्टै बिग्रने भएकाले काफल बेच्न व्यस्त हुनुपरेको उनले सुनाइन् । ‘अब भदौमा दार्चुलाबाट ओखर ल्याएर बेच्छौं, सुन्तला र जुनार भागेश्वरबाट किनेर बेच्ने गरेका छौं,’ उनले भनिन्, ‘फलफूल बेचेरै घरखर्च चलेको छ, परिवार धानिएको छ ।’ उनका अनुसार मिहनेत गर्न सके फलफूल व्यापारबाट राम्रो आम्दानी गर्न सकिन्छ । दार्चुलाबाट एक लाखको ओखर ल्याएर बिक्री गर्दा त्यत्तिकै रकम नाफा गर्न सकिने उनले सुनाइन् ।
स्याउले चोकमा फलफूल बिक्री गर्ने अधिकांश महिला स्थानीय हुन् । उनीहरू प्रायःले आफै जंगलमा पुगेर काफल टिपेर ल्याउने गरेका छन् । आल्चा, आरुलगायतका फलफूल आसपासका गाउँबाट किनेर बिक्री गर्छन् । गाउँबाट किनेर बेच्दा पनि घरखर्च चलिरहेको उनीहरु बताउँछन् ।
काफल अहिले प्रतिकिलो करिब दुई सय रुपैयाँ माथि बिक्रि भइरहेको छ । यात्रुको चहलपहल बढेका दिन केही घण्टामै पनि राम्रो व्यापार हुने गरेको उनीहरूको अनुभव छ ।
जन्तरा महरा पनि स्याउले बजारमा सिजन अनुसारका फलफूल बेच्छिन् । काफल पाइने सिजनभरी दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन् । ‘जंगलमा खेर जाने काफल टिपेर बेच्दा घरखर्च चलाउन सजिलो भएको छ,’ उनले भनिन्, ‘बालबच्चाको खर्च जुटाउन पनि यही व्यापारले सहयोग गरेको छ ।’ तर यत्तिको आम्दानी गर्न बिहानैबाट कठिन संघर्ष गर्नुपर्ने उनले सुनाइन् । ‘बिहानै एक–दुई घण्टा हिँडेर जंगल पुग्नुपर्छ । त्यहाँ काफल टिपिसक्दा दिउँसो हुन्छ । बल्ल बजार पुगेर रातिसम्म सडक किनारमा बसेर ग्राहक पर्खनुपर्छ,’ उनले भनिन्, ‘कहिलेकाँही राम्रै आम्दानी भए पनि मौसम अनुकूल नभए रित्तै बस्नु पनि पर्छ ।’
स्याउले चोकमा १२/१५ जना महिला हरेक दिन फलफूल बिक्री गरिरहेका हुन्छन्। कपिपयले वर्षौंदेखि यो व्यापार गरिरहेका छन् । फलफूल बिक्री गरेर उनीहरूले घरखर्च चलाएर छोराछोरी पढाइरहेका छन् । बिदाका दिन छोराछोरीसमेत आमाबुबालाई सघाउन आउने गरेका छन् ।
तर स्याउले बजारमा व्यापारसँगै चुनौती पनि छन् । मुख्य राजमार्गको किनारमा रहेको बजारमा सडक साँघुरो छ । त्यसमाथि ट्राफिक चेकपोस्ट पनि यही क्षेत्रमा भएकाले सवारीसाधनको चाप बढी हुन्छ । गाडी रोकिनासाथ फलफूल बेच्न व्यापारीहरू सवारीसाधनतिर दौडिने गरेका कारण दुर्घटनाको डर हुने गरेको स्थानीयवासी बताउँछन् ।
अमरगढी नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर ऐरले स्याउलेमा फलफूल व्यापारले स्थानीयको आयआर्जनमा योगदान पुर्याए पनि व्यवसाय व्यवस्थित हुन नसकेको बताए । स्थानीय सरकारको तर्फबाट पटक–पटक व्यवस्थित रूपमा व्यापार गर्न आग्रह गरिए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उनले बताए।
