रैथाने फलफूलको व्यापारले सधैं व्यस्त स्याउले बजार

डडेल्धुराको स्याउले चोकमा स्थानीय महिलाले सिजनअनुसारका फलफूल बेचेर घरखर्च चलाइरहेका छन्।

जेष्ठ २२, २०८३

तर्कराज भट्ट

The market is always busy with the trade of local fruits.

What you should know

डडेल्धुरा — याक्रु बोकेका बस र माइत्रो रोकिनासाथ भीमदत्त राजमार्गको स्याउले चोकमा हातमा टोकरी, डालो र प्लास्टिकका झोलामा प्लाष्टिकका झोला बोकेका महिलाहरु झुम्मिन आइपुग्छन् । गाडीबाट ओर्लिने र चढ्ने यात्रुलाई घेर्दै महिलाहरू आफ्ना टोकरी, डालो र प्लास्टिकका झोलामा फलफूल देखाउन व्यस्त हुन्छन् ।

यतिबेला कसैका टोकरीमा काफल छन् भने कसैले प्लाष्टिकका झोलामा आल्चा र आरु राखेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइ जोड्ने मुख्य बाटो भीमदत्त राजमार्गमा रहेको डडेल्धुराको स्याउले चोकमा वर्षैभरी सिजन अनुसारका स्थानीय फलफूलको व्यापार हुने गरेको छ ।

अछाम, बाजुरा, बझाङ, डोटी, बैतडी, दार्चुला र डडेल्धुराबाट तराइ झर्ने यात्रुको मुख्य विश्रामस्थलका रूपमा रहेको यो बजार पछिल्ला वर्षमा स्थानीय फलफूलको व्यापार केन्द्रका रूपमा पनि स्थापित भएको छ । स्याउलेबाट डोटी, अछाम, बाजुरा र बैतडी, बझाङ र दार्चुला जाने बाटो छुट्टिन्छ । 

अहिले पहाडमा काफल उत्पादन हुने सिजन हो । वैशाखदेखि करिब असार पहिलो सातासम्म यो बजारमा काफल पाइने गरेको छ । आल्चा, आरु, नासपाती, ओखर, सुन्तलालगयात सिजन अनुसार पहाडमा उत्पादन भएका फलफूलको व्यापार हुने गरेको छ । यहाँ डडेल्धुराको भागेश्वर, चुल्लसिराडलगायतका क्षेत्रमा उत्पादन भएका सुन्तला र जुनारदेखि दार्चुलाको ओखर, बझाङको भाङोसमेत बिक्री हुने गरेको छ । स्थानीय उत्पादनसँगै बाहिरी जिल्लाबाट ल्याइएका फलफूल पाइने भएकाले स्याउले बजार वर्षभरि चहलपहल हुने गरेको छ ।

प्रायः घरका स्थानीय महिलाहरू बिहान सबेरै घरबाट निस्किन्छन् । कोही जंगलतिर लाग्छन्, कोही फलफूल खरिद गर्न गाउँतिर पुग्छन् । जंगलमा प्रशस्त पाइने काफल टिपेर ल्याउने र यात्रुलाई बेच्ने काम उनीहरूको दैनिक दैनिकी बनेको छ । तराइ झर्ने हरेकजसो यात्रुले यो सिजनमा यहाँको काफल नलगी जाँदैनन् । 

स्थानीय व्यवसायी देवी ठगुन्ना वर्षौंदेखि यही पेशामा संलग्न छिन् । उनले सिजन अनुसार फलफूल बेच्ने गरेकी छिन् । अरु फलफूल भन्दा छिट्टै बिग्रने भएकाले काफल बेच्न व्यस्त हुनुपरेको उनले सुनाइन् । ‘अब भदौमा दार्चुलाबाट ओखर ल्याएर बेच्छौं, सुन्तला र जुनार भागेश्वरबाट किनेर बेच्ने गरेका छौं,’ उनले भनिन्, ‘फलफूल बेचेरै घरखर्च चलेको छ, परिवार धानिएको छ ।’ उनका अनुसार मिहनेत गर्न सके फलफूल व्यापारबाट राम्रो आम्दानी गर्न सकिन्छ । दार्चुलाबाट एक लाखको ओखर ल्याएर बिक्री गर्दा त्यत्तिकै रकम नाफा गर्न सकिने उनले सुनाइन् ।  

स्याउले चोकमा फलफूल बिक्री गर्ने अधिकांश महिला स्थानीय हुन् । उनीहरू प्रायःले आफै जंगलमा पुगेर काफल टिपेर ल्याउने गरेका छन् । आल्चा, आरुलगायतका फलफूल आसपासका गाउँबाट किनेर बिक्री गर्छन् । गाउँबाट किनेर बेच्दा पनि घरखर्च चलिरहेको उनीहरु बताउँछन् । 

काफल अहिले प्रतिकिलो करिब दुई सय रुपैयाँ माथि बिक्रि भइरहेको छ । यात्रुको चहलपहल बढेका दिन केही घण्टामै पनि राम्रो व्यापार हुने गरेको उनीहरूको अनुभव छ ।

जन्तरा महरा पनि स्याउले बजारमा सिजन अनुसारका फलफूल बेच्छिन् । काफल पाइने सिजनभरी दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन् । ‘जंगलमा खेर जाने काफल टिपेर बेच्दा घरखर्च चलाउन सजिलो भएको छ,’ उनले भनिन्, ‘बालबच्चाको खर्च जुटाउन पनि यही व्यापारले सहयोग गरेको छ ।’ तर यत्तिको आम्दानी गर्न बिहानैबाट कठिन संघर्ष गर्नुपर्ने उनले सुनाइन् । ‘बिहानै एक–दुई घण्टा हिँडेर जंगल पुग्नुपर्छ । त्यहाँ काफल टिपिसक्दा दिउँसो हुन्छ । बल्ल बजार पुगेर रातिसम्म सडक किनारमा बसेर ग्राहक पर्खनुपर्छ,’ उनले भनिन्, ‘कहिलेकाँही राम्रै आम्दानी भए पनि मौसम अनुकूल नभए रित्तै बस्नु पनि पर्छ ।’

स्याउले चोकमा १२/१५ जना महिला हरेक दिन फलफूल बिक्री गरिरहेका हुन्छन्। कपिपयले वर्षौंदेखि यो व्यापार गरिरहेका छन् । फलफूल बिक्री गरेर उनीहरूले घरखर्च चलाएर छोराछोरी पढाइरहेका छन् । बिदाका दिन छोराछोरीसमेत आमाबुबालाई सघाउन आउने गरेका छन् । 

तर स्याउले बजारमा व्यापारसँगै चुनौती पनि छन् । मुख्य राजमार्गको किनारमा रहेको बजारमा सडक साँघुरो छ । त्यसमाथि ट्राफिक चेकपोस्ट पनि यही क्षेत्रमा भएकाले सवारीसाधनको चाप बढी हुन्छ । गाडी रोकिनासाथ फलफूल बेच्न व्यापारीहरू सवारीसाधनतिर दौडिने गरेका कारण दुर्घटनाको डर हुने गरेको स्थानीयवासी बताउँछन् ।

अमरगढी नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर ऐरले स्याउलेमा फलफूल व्यापारले स्थानीयको आयआर्जनमा योगदान पुर्‍याए पनि व्यवसाय व्यवस्थित हुन नसकेको बताए । स्थानीय सरकारको तर्फबाट पटक–पटक व्यवस्थित रूपमा व्यापार गर्न आग्रह गरिए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उनले बताए।

तर्कराज

Link copied successfully