रहफ र भुलुका बासिन्दाले स्थानीय सरकारकै सेवा लिन अझै दुई दिन पैदल यात्रा गर्नुपरेको छ, चुनावका बेलाका आश्वासन कार्यान्वयन नहुँदा स्थानीय निराश छन्।
What you should know
अछाम — अछामको नक्सा नियाल्दा सबैभन्दा पुछारमा देखिने चुच्चो भाग तुर्माखाँद गाउँपालिका–१ स्थित रहफ र भुलुको हो । यी गाउँ नक्साको मात्र पुछारमा छैनन्, भौगोलिक विकटता, विकास र राज्यको पहुँचका हिसाबले पनि पुछारमै देखिन्छन् । स्थानीय तह कार्यन्वयनपछि पनि विकासको अनुभूति गर्न नपाएको भन्दै स्थानीयले बिरोध गरिरहेका छन् ।
रहफ र भुलुका बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र तुर्माखाँद पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । साविकको रहफ गाविस हुँदा ५/६ घण्टा हिँडेर प्रशासनिक सेवा लिनुपर्थ्यो । अहिले स्थानीय सरकारको केन्द्र पुग्न दुई दिनको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यहाँका बासिन्दालाई पालिकाको केन्द्र पुग्नु ठूलै कष्ट हुने स्थानीय धनबहादुर कार्कीले बताए । उनका अनुसार बयस्क व्यक्तिलाई निरन्तर हिँड्दा १५ देखि १८ घण्टा लाग्छ । यी बस्ती जिल्ला सदरमुकामबाट करिब २ सय किलोमिटर टाढा रहेका छन् । गाउँपालिकाको केन्द्रबाट १ सय किलोमिटर टाढा पर्छन् ।
‘यस क्षेत्रका बासिन्दाले सुरक्षित बाटो समेत पाएका छैनन्,’ उनले भने,‘एकातिर जंगली जनावरको डर र अर्कोतिर ओरालो–उकालो छ ।’ कर्णाली नदी किनारको बाटो वर्षायाममा हिँड्नै मुस्किल हुन्छ । पैदल यात्राकालागि पनि सुरक्षित गोरेटो बाटो नभएको कार्कीले बताए । जंगलको जोखिमपूर्ण बाटोको दुवैतिरबाट कर्णालीले घेरेको छ । उनका अनुसार रहफबाट गाडी चढेपछि तीन घण्टामा कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगिन्छ । आफ्नै सदरमुकाम पुग्न दैलेख हुँदै कम्तीमा ८ घण्टा गाडीमा यात्रा तय गर्नुपर्छ । गाउँपालकाको केन्द्र तुर्माखाँद पुग्नका लागि समेत यहाँका बासिन्दाले आधा दैलेख र आधा अछामको भूगोल घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
विकट भूगोलका कारण यहाँको जनजीवन असहज बनेको तुर्माखाँद–१ का पूर्ववडाअध्यक्ष थीरबहादुर रावलले बताए । गत मंसिरमा कर्णाली राजमार्गबाट गाउँसम्म कच्ची सडक जोडिएको छ । ‘तर, गाडी गुड्दैनन् । दैलेखको ढुङ्गेश्वरमा २५ सय रुपैयाँ पर्ने चामलको बोरामा ढुवानी खर्च जोडिँदा रहफमा ४ हजार रुपैयाँ नाघ्छ,’ उनले भने ।
उनका अनुसार रहफमा करिब ९ सय घरधुरी छन् । ४ हजार २ सय जनसंख्या छ । ‘चुनावका बेला विकास, बाटो, गाडी र पक्की पुल बनाउने आश्वासनको चाङ लाग्छ,’ उनले भने, ‘चुनाव सकिएपछि उम्मेदवार फर्केर आउदैनन् ।’
तुर्माखाँदा–२ भुलुका रमेश शाहीले पालिकाको सेवा लिन दुई दिन पैदल हिँड्नु पर्ने बाध्यता रहेको बताए । यसरी दुःख गरेर जाँदा पनि कहिलेकाँही बेलैमा सेवा पाउन नपाइने उनले बताए । यहाँका बासिन्दाको मुख्य माग कर्णाली नदीमा मोटरेबल पुल निर्माण रहेको छ । ‘अहिलेसम्म कसैले वास्ता गरेनन्,’ पूर्ववडाध्यक्ष रावलले भने, ‘रहफलाई भोट बैंकका रूपमा प्रयोग गरियो । चुनाव अघिसम्म बाटो, पक्की पुल, गाडी चल्ने आश्वासन दिन्छन्, ०६४ देखि जितेर गएका सांसदलाई भन्दै आएका छौं ।’
उनका अनुसार ०६४ देखि ०८२ सम्म यस क्षेत्रबाट सांसद भएका शरदसिंह भण्डारी, भरत साउँद, यज्ञबहादुर बोगटी र पुष्पबहादुर शाह र यसपटक पुनः निर्वाचित बोगटीसित पटक–पटक पक्की पुल निर्माणका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय बताउँछन् । पुल नबनेपछि आक्रोशित रहफवासीले यसपटकको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए । सबै दलहरूले रहफ र भुलुको समस्या तत्काल समाधान गर्ने लिखित प्रतिबद्धता गरेपछि मात्र उनीहरू मतदानमा सहभागी हुन राजी भएका थिए । तर, निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि त्यो कागजको पाना कार्यान्वयनमा आउन सकेको छैन ।
