गत साता मेलाैली क्षेत्रमा असिनाले मकै बोट नष्ट भएपछि किसानहरू बिउ खोजेर पुनः मकै छरिरहेका छन् ।
बैतडी — गत साता असिनाले मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकैबालीलगायत तरकारीमा ठूलो क्षति पुग्यो । यी तीन स्थानीय तहमध्ये असिनाले सबैभन्दा बढी मेलौलीमा क्षति भएको थियो ।
खेतबारी सेताम्ये हुनेगरी परेको असिनाले भर्खर उम्रिएका मकैका बोट नै बचेनन् । असिनाले बारी बाझो बनेपछि अहिले किसानले दोस्रो पटक मकै छर्दै छरिरहेका छन् । मकै गोड्ने तयारीमा रहेका किसान फेरि छर्नुपर्ने बाध्यता आउँदा समस्यामा परेका छन् । कतिपय किसानलाई फेरि बिउ खोज्न सास्ती भइरहेको छ ।
पाखो बारीमा बल्लतल्ल उम्रेर ४ पाते भएको मकै असिनाले सखाप पारेपछि दोस्रो पटक छरिरहेको मेलौलीका किसान करन भट्टले बताए । ‘असिनाले खेत हिउँ जस्तै ढाकिदिएपछि मकैको बोट ने बचेन,’ उनले भने, ‘खेत बााझो बनेपछि दोस्रो पटक छर्दैछाौ ।’ पहिला गोरु र ट्याक्टरले जोतेर मकै छरेका स्थानीय पुराना बोटमा ठुटा उम्रिने आशमा अहिले हातले खनेर छरिरहेका छन् । असिनाका कारण किसानहरु उत्पादन घट्ने चिन्तामा छन् । असिनाले माटो थिचिएका वर्ष उत्पादन कम हुने किसानहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले असिनाले भएको क्षतिको विवरण उपलब्ध गराउन नगरपालिकालाई पत्र पठाएको छ । प्रशासनको पत्रपश्चात बल्ल नगरपालिकाले क्षतिको विवरण संकलनको काम गरिरहेको छ ।
नगरप्रमुख भीमबहादुर चन्दले नगरपालिकाले घर, विद्यालयका छाना उडाएको क्षतिपूर्ति दिने भए पनि किसानलाई असिनाबाट भएको क्षतिमा राहत दिननसक्ने बताए । नगरपालिकामा जम्मा भएको विवरण जिल्ला प्रशासनमा पठाइदिने र माथिबाटै केही राहत आए त्यही बाँडिदिने उनले बताए ।
