साइपाल हिमालको बेसक्याम्पमा कार्यपालिकाको बैठक

‘घुमौं साइपाल’ अभियान सुरु भएको घोषणा गर्दै साइपाल गाउँपालिकाले आइतबार बेसक्याम्पमा कार्यपालिका बैठक आयोजना गरेको हो ।

जेष्ठ १९, २०८३

वसन्तप्रताप सिंह

Executive meeting at the base camp of Saipal Himal

What you should know

बझाङ — साइपाल गाउँपालिकाले साइपाल हिमालको बेसक्याम्प औंलागाडमा कार्यपालिका बैठक सम्पन्न गरेको छ । साइपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले हिमालको काखमा बैठक आयोजना गरेको हो ।

‘घुमौं साइपाल’ अभियान सुरु भएको घोषणा गर्दै गाउँपालिकाले आइतबार पहिलो पटक बेसक्याम्पमा कार्यपालिका बैठक आयोजना गरेको हो । साइपाल गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीसहितको टोली बैठकका लागि साइपाल पुगेका थिए । साइपाल हिमालको दक्षिणी बेसक्याम्प औलागाड गाउँपालिकाको केन्द्र काँडाबाट करिब डेढ दिनको पैदल दुरीमा रहेको छ । 

कार्यपालिका बैठकले यसै वर्ष पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीहरू, पर्यटनको क्षेत्रमा काम गर्ने संघ संस्था, पर्यटन व्यवसायी र पर्यटन विज्ञहरूलगायतको सहभागिता रहने गरी बेसक्याम्पमै ‘साइपाल सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको छ । ‘साइपालको विकासको आधार नै पर्यटन हो । त्यसैले पर्यटन, जैविक विविधता र सम्भावनाको बारेमा राष्टि्रय र अन्तराष्टि्रय क्षेत्रमा प्रचारप्रसार कसरी गर्ने भनेर बेसक्याम्पमै सम्मेलन आयोजना गर्ने निर्णय गरेका छौं,’ कार्यपालिका बैठकले गरेको निर्णयबारे जानकारी दिँदै साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘सम्मेलनलाई साइपालका सम्भावनाहरूका बारेमा सरोकारवालाहरूले छलफल र बहस गर्ने साझा थलोको रुपमा विकास गर्न खोजेका छौँ’ उनले पालिकाले प्रत्येक वर्ष ‘साइपाल सम्मेलन गर्ने गरी तयारी थालेको जानकारी दिइन् । 

यस्तै साइपाल गाउँपालिका प्रवेश विन्दु सम्देउमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने, पर्यटकको आवागमन सहज र सुरक्षित बनाउन थप पूर्वाधार निर्माण गर्ने, साइपाल हिमाल पदयात्रा मार्गमा रहेका होटल तथा होमस्टेको क्षमता विकास गर्ने र स्थानीय उत्पादनमा आधारित खानाको मेनु निर्धारण गर्दै होमस्टे सन्चालन कार्यविधि तथा निर्देशिका निर्माण गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको तामाङले बताइन् । 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल क्षेत्रमा पर्वतारोहण र पर्वतीय पदयात्राको प्रचुर सम्भावना भएर पनि पर्यटकको नजरमा पर्न सकेको छैन । सुन्दर हिमश्रृङ्खला, बहुमूल्य जडीबुटीको भण्डार र सांस्कृतिक विविधता बोकेको यो क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यापर्यटनको गन्तव्य बनाउन पालिकाले कोसिस गरिरहेको गाउँपालिका अध्यक्ष मानवीर बोहरा बताउँछन् । 

‘यहाँको जैविक, पर्यावरणीय, साँस्कृतिक र भौगोलिक विविधतालाई पर्यटनसँग जोड्न पालिकाले सुरुवातदेखि नै काम गरिरहेको छ । अघिल्ला वर्षमा पर्यटन पूर्वाधार निर्माणको काम भएको र अब पर्यटक बोलाउने समय आएको बोहराले बताए । उनले भने, ‘अब साइपालको पर्यटनमा निजी क्षेत्र र अरु सरोकारवालाहरूको पनि सहभागिताको खोजी गर्ने बेला भएको छ । त्यसैका लागि ‘साइपाल सम्मेलन आयोजना गर्ने निर्णय गरेका हौं ।’

उनले सम्मेलनमा साइपालको पर्यटकीय सम्भावनासँगै जलवायु परिर्वतनले यस क्षेत्रमा परेको असर र यसको न्युनीकरणका लागि विभिन्न निकायले खेल्नु पर्ने भूमिकाका विषयमा पनि छलफल गर्नेगरी गाउँपालिकाले तयारी गरिरहेको बताए । साइपाल सम्मेलनको आयोजनाबारे जिल्लाका अन्य स्थानीय तहहरूसँग पनि समन्वय गरिने उनको भनाइ छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully