बैतडीका सिगास र शिवनाथका साथै अछामको ढकारी र कमलबजार, डोटीको शिखर र बाजुराको त्रिवेणीमा कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख ।
बैतडी — अगामी आर्थिक वर्षमा उच्च गरिबी दर भएका बैतडी, अछाम, डोटी र बाजुराका ६ स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सोमबार अगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दा बैतडीको सिगास र शिवनाथ गाउँपालिकाका अतिरिक्त ३ जिल्लाका अन्य ४ स्थानीय तहमा पनि मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।
बैतडीका सिगास र शिवनाथका साथै अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममार्फत रोजगारी सिर्जना गरी बढ्दो जनशक्ति पलायनलाई रोक्ने लक्ष्य लिइएको छ । शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रमसँग आबद्ध गरी उच्च गरिबी दर भएका पालिकाहरूमा सघन रूपमा कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तरमा सुधार ल्याइने प्रदेश सरकारको नीति कार्यक्रममा बताइएको छ ।
