सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र तीर्थबहादुर थापा मगरको शव भारतको टनकपुरस्थित ब्रह्मपुर क्षेत्रमा रहेको पुलनजिक पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
What you should know
डडेलधुरा — डडेलधुराको परशुराम नगरपालिका–५ क्षेत्रबाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका एक जवान र स्थानीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बेपत्ता भएको चार दिनपछि उनीहरूको शव महाकाली नदीको फरक–फरक स्थानमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार करिब ५५ वर्षीय स्थानीय तीर्थबहादुर थापा मगरको शव सोमबार परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीमा फेला परेको हो। शव फेला परेलगत्तै प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार थापा मगर र सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन गरिएका थिए। महाकाली नदीआसपासका क्षेत्रमा लगातार खोजी कार्य चलाइँदै आएको थियो।
यसैबीच सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) परिगाउँमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव भने कञ्चनपुरसँग जोडिएको भारतीय क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाका अनुसार पुन मगरको शव भारतको टनकपुरस्थित ब्रह्मपुर क्षेत्रमा रहेको पुलनजिक पानीमा तैरिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फेला पारेको हो। शव भारतीय क्षेत्रमा भेटिएकाले त्यहाँको कानुनी प्रक्रियाअनुसार अनुसन्धान र पोस्टमार्टमको काम अघि बढाइएको उनले जानकारी दिए।
‘हामी पनि इन्डियन मान्छे हाम्रो टेरिटोरीमा भेटिएपछि सबै कानुनी प्रक्रिया हाम्रोबाटै गराउँछौं,’ उनले भने, ‘अब उनीहरूको टेरिटोरीमा भेटिएको भएकाले कानुनी प्रक्रिया उनीहरूले आफ्नै तर्फबाट गराउँछन्।’
प्रहरी निरीक्षक थापाका अनुसार शव नेपाली नागरिकको भए पनि भारतीय भूमिमा फेला परेकाले घटनास्थल मुचुल्का, पोस्टमार्टम तथा अन्य कानुनी प्रक्रिया भारतीय सुरक्षा निकाय र प्रशासनले नै पूरा गर्नेछन्। त्यसपछि आवश्यक समन्वय गरी शव आफन्तलाई बुझाइने तयारी गरिएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै घटनाबारे थप स्पष्ट हुने प्रहरीको भनाइ छ। यद्यपि उनीहरू महाकाली नदीमा डुबेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।
नेपाल र भारतबीच सीमा क्षेत्रमा हुने यस्ता घटनामा दुवै देशका सुरक्षा निकायबीच समन्वय गरी कानुनी प्रक्रिया अघि बढाइने गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
