कृषि ज्ञान केन्द्र बैतडी भन्छ- यहाँ बाली बिमा गर्नेको संख्या शून्य ।
What you should know
बैतडी — मंगलबार आएको वर्षासँगैको असिनाले जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकैलगायत तरकारी बालीमा ठूलो क्षति पुर्यायो । जिल्लाभरि नै वर्षा र हावाहुरी आए पनि मेलौली, शिवनाथ र पञ्चेश्वरबाहेक अन्यत्र असिना नपरेको कृषिज्ञान केन्द्र बैतडीले जनाएको छ ।
असिना परेको ठाउँमा पाखो जमिनतिर मकै उम्रेर ४ पाते र पानी लाग्ने खेततिर ८ पाते भइसकेको छ । पानीसँगै परेको असिनाले खेत नै हिउँजस्तै ढाकिदिएपछि मकै जम्मै भाँचिदिएको छ भने तरकारी बालीमा पनि ठूलो क्षति पुगेको किसानहरूले बताए ।
यस वर्षमात्रै नभइ प्रत्येक वर्ष हुने तरकारी र बालीको के कति क्षति भयो भन्ने स्थानीय तहसँग न तथ्यांक छ, न त कृषि ज्ञानकेन्द्रसँग नै यसको कुनै रेकर्ड । किसानहरूले भने यसको क्षतिपूर्ति कुनै ठाउँबाट पाउँदैनन् । उनीहरूलाई आफूले लगाएको बालीको बिमा गर्नु पर्छ र यसबाट क्षतिपूर्ति पाइन्छ भन्ने पनि ज्ञान छैन ।
मेलौली नगपालिकाले भने किसानहरूसँग यस वर्षबाट असिनाको क्षतिको विवरण माग गरेकाले केही क्षतिपूर्ति दिन्छ कि भन्ने आस गरेको किसान जन्तरा भट्टले बताइन् ।
सरकारले बाली बिमा गराउने नीति ल्याए पनि यसको कार्यान्वयन हालसम्म नभएको उनले बताइन् । ‘यसबारेमा किसानमा सचेतना नै पुगेको छैन,’ उनले भनिन्, ‘स्थानीय तहले पनि किसानलाई तरकारी र विभिन्न रैथाने बालीमा अनुदान दिए पनि बिमासम्बन्धी जनचेतनाका कार्यक्रम गरेको छैन ।’
व्यावसायिक रूपमा तरकारी खेती गर्ने धेरैजसो किसानलाई पनि बाली बिमासम्बन्धी ज्ञान छैन । ज्ञान भएका किसान पनि बैतडीमा सहजैसँग बिमा गर्ने संस्था नहुँदा र छोटो अवधिको कार्यक्रम हुँदा झन्झटिलो प्रक्रिया मान्ने भएकाले बाली बिमा नगर्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरि जोशीले बताए । ‘प्रत्येक वर्ष बाली बिमासम्बन्धी जानकारीका लागि गोष्ठी गर्छौं, गोष्ठीमा सबै बाली बिमा गर्ने भन्छन्,’ उनले भने, ‘तर पछि गएर एक जनाले पनि गरेको पाइँदैन ।’
क्षतिपूर्ति कम आउने भएकाले किसान बाली बिमाप्रति आकर्षित नभएको उनले बताए । बिमाका लागि निजी कम्पनीलाई तोके पनि किसानले बिमा गराउन नआएको नेपाल इन्स्योरेन्सका माधव अवस्थीले बताए । बालीमा कोही किसान पनि बिमा गर्न मान्दैनन् तर पशु बिमाप्रति भने किसानको आकर्षण रहेको उनले बताए ।
‘अन्नबालीको बिमा खेती गर्दाको लगानीका आधारमा हुन्छ,’ उनले भने, ‘क्षति उत्पादनमा हुने भएकाले किसान यसतर्फ आकर्षित नभएका हुन् ।’ कृषि बिमाको नीति अनुसार खेती गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ । लागतको बिमा रकम कम पाइने भएकाले यहाँ बिमाप्रति आकर्षण नभएको किसान भट्टले बताइन् ।
बैतडीमा ३१ हजार ४ सय ८५ हेक्टर खेतीयोग्य जमिनमध्ये २५ हजार ७ सय हेक्टरमा मात्र खेती गरिएको भए पनि जिल्लामा बाली बिमा गर्नेको संख्या शून्य रहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
