उत्पादन बिक्री गर्न किसान नआएपछि डडेल्धुराको हाटबजार बन्द

व्यापारी गाउँमै पुगेर कृषिजन्य उत्पादन किन्ने गर्दा किसान बजारसम्म नआएपछि हाटबजारका स्टल खाली देखिन्छन् ।

जेष्ठ ११, २०८३

तर्कराज भट्ट

Dadeldhura market closed after farmers fail to sell produce

What you should know

डडेल्धुरा — ग्रामीण क्षेत्रका उत्पादन बिक्रीका लागि स्थानीय नआएपछि सदरमुकाममा सञ्चालन गरिएको हाट बन्द भएको छ । गाउँमा उत्पादन भएका तरकारी तथा फलफूल सहज रूपमा बिक्री गर्ने उद्देश्यले हाटबजार सञ्चालन गरिएको थियो ।

गत चैत १४ देखि सदरमुकामको बसपार्क छेउमा प्रत्येक शनिबार हाटबजार सुरु गरिएको थियो । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने, बिचौलियाको प्रभाव घटाउने र किसानलाई उचित मूल्य दिलाउने लक्ष्य थियो । 

त्यसका लागि अमरगढी–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको संयोजकत्वमा हाटबजार व्यवस्थापन समिति समेत गठन गरिएको थियो । हाटबजार सञ्चालनका लागि कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको आलु सुपरजोन, उद्योग वाणिज्य संघलगायतका निकायसँग समन्वय गरिएको थियो । बसपार्क पछाडि अस्थायी टहरा निर्माण गरेर कृषकलाई निःशुल्क स्टल उपलब्ध गराइएको थियो । सुरुमा चहलपहल देखिए पनि त्यसले निरन्तरता पाएन ।

स्थानीय तहले कृषिजन्य उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउने लक्ष्य राखे पनि किसानको सहभागिता न्यून हुँदा योजना असफल बनेको सरोकारवालाले बताए । हाटबजारमा ग्राहकको उपस्थिति उल्लेख्य भए पनि उत्पादन बोकेर किसान नआउँदा केही स्टल मात्र सञ्चालनमा थिए ।

अमरगढी–१ का दत्तराज अवस्थीले सिजनअनुसार तरकारी बिक्री  गर्न किसानलाई ठूलो समस्या नभएको बताए । उनका अनुसार व्यापारी गाउँमै पुगेर उत्पादन खरिद गर्ने भएकाले किसानले छुट्टै बजार खोज्नुपर्ने अवस्था छैन । तर, दीर्घकालीन रूपमा स्थानीय कृषि प्रणालीलाई बलियो बनाउन व्यवस्थित हाटबजार आवश्यक रहेको उनको भनाइ छ । 

हाटबजार सञ्चालन गर्ने हो भने त्यसलाई व्यवस्थित, नियमित र भरपर्दो बनाउनुपर्ने उनको भनाई छ । कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले संविधानले स्थानीय तहलाई यस्ता कार्यक्रम सञ्चालन गर्ने अधिकार दिएको उल्लेख गर्दै कृषि ज्ञान केन्द्रले सहजीकरणको भूमिका खेलेको बताए । ‘हामीले अमरगढी–५ का वडा अध्यक्षसँग समन्वय गरेर सञ्चालनमा सहयोग गरेका थियौं,’ उनले भने, ‘तर, कृषकहरू आफैं उत्पादन लिएर हाटबजारमा नआएपछि योजना प्रभावकारी बन्न सकेन ।’

उनका अनुसार डडेल्धुराका धेरै कृषि पकेट क्षेत्रमा उत्पादनको बजारीकरण समस्या नभएकाले पनि किसान हाटबजारसम्म आउन इच्छुक देखिएनन् । व्यापारीले खेतबारीमै पुगेर उत्पादन खरिद गर्ने गरेका कारण किसानले बजारसम्म ढुवानी गर्नुपर्ने आवश्यकता महसुस नगरेको उनको विश्लेषण छ। 

पनेरुले विभिन्न सरोकारवाला निकायबीच पर्याप्त समन्वय हुन नसक्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको स्वीकार गरे । आगामी आर्थिक वर्षको बजेटमा पुनः कार्यक्रम समावेश गरेर व्यवस्थित ढंगले हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

यता हाटबजार व्यवस्थापन समिति संयोजक तथा अमरगढी–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीले स्थानीय किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने उद्देश्य राम्रो भए पनि व्यवहारमा किसानको सहभागिता कमजोर देखिएको बताए । ‘बिचौलियाले गाउँमै गएर उत्पादन उठाएर महागोमा बेच्ने प्रवृत्ति घटाउन हामीले ताजा तरकारी र फलफूल सिधैं उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेका थियौं,’ उनले भने, ‘तर उत्पादन गर्ने किसान नै बजारमा आएनन् ।’

उनका अनुसार किसानलाई निःशुल्क स्टल उपलब्ध गराइएको थियो। तर अधिकांश किसानले आफ्ना उत्पादन होलसेल व्यापारीलाई नै बिक्री गर्न सहज माने। उनले हाटबजारमा ग्राहकको कमी नभएको र दुई–चारवटा मात्रै तरकारीका स्टल हुँदा पनि उपभोक्तको भिड लाग्ने गरेको बताए ।

क्षेत्रीले आगामी दिनमा किसानको खेतबारीसम्म निःशुल्क गाडी उपलब्ध गराएर कृषिजन्य उत्पादन संकलन गरी हाटबजारसम्म ल्याउने योजना बनाइएको जानकारी दिए। विभिन्न कृषक समूहसँग समन्वय गरेर फेरि व्यवस्थित रूपमा हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

डडेल्धुरामा यसअघि पनि २०७० सालतिर हाटबजार सञ्चालनको प्रयास गरिएको थियो। तर कमजोर व्यवस्थापनका कारण त्यो प्रयास पनि छोटो समयमै रोकिएको थियो। यसपटक पुनः सुरु गरिएको हाटबजार पनि पुरानै समस्याबाट प्रभावित बनेको हो । 

तर्कराज

Link copied successfully