दश वर्षदेखि ७ पटक म्याद थप्दा पनि कैलाली र कञ्चनपुरमा हुलाकी सडक कालोपत्रकाे काम पूरा हुन सकेको छैन ।
What you should know
कञ्चनपुर — पूर्वदेखि पश्चिमसम्म तराई मधेसको दक्षिणी भेगको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सुदूरपश्चिमका कैलाली र कञ्चनपुर खण्डको सडक कालोपत्र गर्ने कार्य अझै अलपत्र छ ।
कैलालीको सत्ती–भजनी–धनगढी र लम्की–टीकापुर–खक्रौला तथा कञ्चनपुरको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी खण्ड हुलाकी सडकमा पर्छ । पछिल्लो १० वर्षयता मात्रै पनि यी तीन सडकको कालोपत्र गर्न ठेक्का सम्झौता भई पटक पटक म्याद थप गर्दासमेत काम अझै अधुरै छ । कहीँ बल्लतल्ल कालोपत्र भएको छ त कहीँ अझै पनि अलपत्र छ । निर्माण कम्पनीले समयमा काम नगर्दा यात्रु र व्यवसायी मात्रै होइन सडक आसपास घर भएका स्थानीयले लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।
राजमार्गको काम अधुरो रहँदा यहाँका बसिन्दा धुलो, हिलो र खाल्डाखुल्डीको कष्टकर यात्रा गर्न बाध्य छन् । सडकको दुरावस्थाका कारण आवतजावत मात्र होइन, व्यापार, स्वास्थ्य सेवा र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् । बेलौरीका बासिन्दा परमानन्द भट्टले सडकको अवस्थाले वर्षौंदेखि समस्या भोगिरहेको बताए । बेलौरीकै स्थानीय सरस्वती जोशीले धुलोले घरभित्रै बस्न गाह्रो हुने गरेको बताइन् । ‘बिरामीलाई त झन् यो बाटोबाट अस्पताल पुर्याउँदा बीचमै जोखिम हुन्छ । यो सडक बनाउन अझै कति वर्ष लाग्ने हो ?,’ उनले भनिन् ।
बेलडाँडीकी राधिका सुनारले यो सडक पूरा गर्न राज्यले बेवास्ता गरेको गुनासो गरिन् । ‘धेरै वर्ष भयो सडक अधुरै छ । विकासका कुरा भाषणमा मात्रै भए । काममा कहिल्यै देखिएन । जनताको दुःख चुनाव आउँदा मात्रै सम्झिने प्रवृत्ति कहिलेसम्म चल्छ ?’ उनले भनिन् ।
हुलाकी सडक कालोपत्रका लागि पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीहरूले काम नगर्दा ठेक्का लागेको १० वर्षसम्म पनि काम अधुरै छ । ठेक्काको म्याद ७ पटक थप्दा समेत काम पूरा भएको छैन । निर्माणको काम त परको कुरा, योजना कार्यालयको सम्पर्कमै नआउने निर्माण कम्पनीसँग काम गर्न नसकिने भएपछि कञ्चनपुरको बेलौरी–बेलडाँडी २० किलोमिटर खण्डको ठेक्का गत वर्ष मंसिरमै तोडिएको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय धनगढी कैलालीका अनुसार निर्माण कम्पनीहरूको लापरबाहीका कारण ठेक्का भएको १० वर्षसम्म पनि काम पूरा हुन सकेको छैन । कार्यालयका इन्जिनियर प्रमोद चौधरीका अनुसार बेलौरी–बेलडाँडी २० किलोमिटर खण्डको ठेक्का सात पटक म्याद थपिँदा पनि पूरा नभएपछि गत वर्ष मंसिरमा तोडिएको हो । ‘पटक पटक म्याद थप गर्दा पनि काम अघि बढेन । कम्पनी नै सम्पर्कविहीन भएपछि ठेक्का तोड्न बाध्य भयौं,’ उनले भने । तर ठेक्का तोडिएको ५ महिनासम्म पनि नयाँ ठेक्का खोलिएको छैन । बरु उल्टै निर्माण कम्पनी ठेक्का तोडेकोविरुद्ध अदालत पुगेको छ ।
सीमा विवादले थप अवरोध
कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित कालो पुलदेखि पचुइसम्मको करिब १७ सय मिटर खण्डमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्ट्रिप नक्सा विवादका कारण ७ वर्षदेखि अवरोध गर्दै आएको छ । यसले उक्त खण्डको स्तरोन्नति पूर्णरूपमा रोकिएको छ ।
बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विश्राम रानाले सीमा विवाद संघीय सरकारले सुल्झाउनुपर्ने बताए । ‘स्थानीय तहले मात्र केही गर्न सकिँदैन । संघीय सरकारले कुटनीतिक र प्राविधिक रूपमा चाँडो समाधान नगरे हामीले यातायात सेवाबाट पीडित बन्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नेपालको नक्सामा भएको भूमि, ७ दशकयता नेपालीले नै भोगचलन गर्दै आएको जमिन, नेपाली नागरिककै नाममा लालपुर्जा कायम रहे पनि ७ वर्षयता भारतीय सुरक्षाकर्मीले काम गर्न नदिनु सामान्य होइन । कूटनीतिक पहलबाट यसको विवाद अन्त्य गरिनुपर्छ,’ उनले भने ।
सरकारी तथ्यांक अनुसार सुदूरपश्चिममा हुलाकी राजमार्गको समग्र भौतिक प्रगति ८४ प्रतिशत र आर्थिक प्रगति ८२ प्रतिशत पुगेको छ । तर मुख्य खण्डको अवस्था अझै अधुरै छ । कञ्चनपुरमा पर्ने ६२ किलोमिटर डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी खण्डमध्ये ४२ किलोमिटर मात्रै कालोपत्र भएको छ भने २० किलोमिटर बाँकी छ । त्यसमध्ये ७.४ किलोमिटरमा अहिलेसम्म कालोपत्र भएको छैन । बाँकी १२.६ किलोमिटरमा पुरानो कालोपत्र उप्किएको स्थानीय बताउँछन् ।
कैलालीको सत्ती–भजनी–धनगढी ६६.५ किलोमिटर सडकखण्डमा ५६ किलोमिटर कालोपत्र भएको छ भने १०.५ किलोमिटर बाँकी छ । ठेक्काको अन्तिम म्याद २०८२ चैतमा सकिएको छ । कैलालीकै लम्की–टीकापुर–खक्रौला २९.७ किलोमिटर खण्डमा २३.९ किलोमिटर मात्रै कालोपत्र भएको छ भने ५.८ किलोमिटर बाँकी छ । यसको अन्तिम म्याद २०८२ फागुन २५ मा सकिएको छ ।
निर्माण कम्पनीहरूले समयमै सडक कालोपक्र नगर्दा स्थानीय बासिन्दा आत्रोशित छन् । केही समयअघि सामाजिक अभियन्ताले कालोपत्र उप्किएर बनेका खाल्डाखुल्डीमा बालुवा, गिट्टी र सिमेन्ट हालेर मर्मत अभियान चलाएका थिए । अभियन्ता धर्मेन्द्र गिरीले उक्त दबाबमूलक अभियानबाट पनि सरकारले चासो नदेखाएकाले सशक्त आवाज उठाउन आवश्यक भएको बताए ।
