शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २०२२ पछि भएको बाह्रसिंगा गणनामा यसपटक क्यामेरा, वाइनाकुलरसँगै पहिलोपटक तीन वटा ड्रोन पनि प्रयोग गरिएको छ।
What you should know
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २०१० देखि नियमित रुपमा बाह्रसिंगा गणना हुँदै आएको छ । हेड काउन्टिङ विधिबाट गरिने गणनामा क्यामेरा र वाइनाकुलरको प्रयोग गरिँदै आएको छ । प्राविधिकहरुले बथानमा रहेका बाह्रसिंगाको एक/एक गरी टाउको गणना गरेर नतिजा निकालिन्छ । त्यसका लागि उनीहरुले क्यामेरा र वाइनाकुलरको प्रयोग र्गछन् ।
यस पटक भने बाह्रसिंगा गणनामा क्यामेरा र वाइनाकुलरसँगै ड्रोनको पनि प्रयोग गरिएको छ । बाह्रसिंगा पाइने निकुञ्जको विशाल घाँसे मैदानमा ड्रोन क्यामेरा उडाएर गणना गरिएको हो । ‘झुण्डमा नभएका र घाँसे मैदानको छेउछाउमा रहेका बाह्रसिंगालाई ड्रोन क्यामेराको सहयोगमा गणना गरियो,’ निकुञ्जका रेञ्जर प्रयास केसीले भने, ‘छुटफुट भएका र आँखाले पहिचान गर्न नसकिने बाह्रसिंगा गणनामा ड्रोनले सहज बनायो ।’
रेन्जर र केसीका अनुसार प्राविधिकहरुले क्यामेरा र वाइनाकुलरबाट हेर्ने तथा ड्रोन उडाउने काम एकै समयमा गरिएको हो । जसबाट दोहोरिने सम्भावना कम हुन्छ । निकुञ्जको घाँसे मैदानमा बिहान र साँझको समयमा बाह्रसिंगा चर्नका लागि आउने गर्छन् । गणनाका लागि पनि यही समय तोकिएको थियो ।
रेन्जर केसीका अनुसार बिहान ६ देखि ९ र साँझको ४ देखि ७ बजेसम्म गणना गरिएको हो । उनका अनुसार ड्रोन क्यामेरामा हेरेर भाले पोथी छुट्याउन नसके पनि गणना गर्न सकिएको छ । यसले गणनामा छुट्ने सम्भावना कम हुन्छ ।
वन्यजन्तु सप्ताहको अवसर पारेर वैशाख ७ देखि १२ सम्म बाह्रसिंगा गणना गरिएको हो । प्रायःजसो बर्सेनि गणना हुने गरे पनि यसपटक भने सन् २०२२ पछि भइरहेको हो । २०२२ यता अनुगमन मात्र हुँदै आएको थियो । अनुगमनमा सघन रुपमा गणना नगरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । ‘पहिलो पटक बाह्रसिंगा गणनामा यसपाला ड्रोन क्यामेरा प्रयोग गरेका छौं,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘यसले गणनामा सहजतासँगै तथ्यांकलाई थप विश्वसनीय बनाउ सहयोग पुग्छ ।’ उनका अनुसार विगतमा घाँसे मैदानको छेउछाउमा जंगल किनारमा भएका बाह्रसिंगा गणनामा छुट्न सक्ने सम्भावना रहेकोमा ड्रोनबाट यो सम्भावना कम भएको छ ।
उनका अनुसार अहिले बाह्रसिंगा गणनाका लागि ३ वटा ड्रोन क्यामेरा प्रयोग गरिएको थियो । गणनामा ३५ जना प्राविधिकसँगै हात्ती समेत परिचालन गरिएको थियो । सन् २०२२ मा गरिएको गणनामा निकुञ्जमा २ हजार ३ सय १३ बाह्रसिंगा रहेका छन् ।
जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लफाँटा संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा बाह्रसिंगा गणना गरिएको हो । अहिले फिल्ड स्तरको गणनामा संकलन भएको तथ्यांक विश्लेषणको काम चलिरहेको छ ।
५४ वर्गकिलोमिटरमा फैलिएको निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान मानिन्छ । यही घाँसे मैदान बाह्रसिंगा हेर्न पर्यटकका लागि आकर्षण हो । यहाँ बाह्रसिंगासँगै बाघ समेत सहजै देख्न पाइन्छ ।
