यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी कैलालीबाट १४ हजार १ सय ४६ परीक्षार्थी सहभागी थिए भने सबैभन्दा कम डडेलधुराबाट १ हजार ९ सय ३४ जनाले एसईई दिएका थिए ।
What you should know
महेन्द्रनगर — सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ४१ हजार ६ सय ६३ विद्यार्थी २०८२ को एसईईमा सहभागी भएकामा १० जनाले ४ जीपीए ल्याएका छन् । प्रदेशभरिबाट सबैभन्दा राम्रो नतिजा बाजुराको आएको छ । बाजुराबाट ६१ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास निर्देशनालय दिपायलका अनुसार बाजुरापछि कैलालीबाट ग्रेडेड हुने प्रतिशत ५५ दशमलव २९ र अछाममा ५५ दशमलव ७१ रहेको छ । ग्रेडेड (उत्तीर्ण) हुने विद्यार्थी संख्या २१ हजार ५ सय १९ रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनका अनुसार एसईईमा सबैभन्दा कम ग्रेडेड हुने जिल्ला दार्चुलाको ३० दशमलव ८४ प्रतिशत रहेको छ । यसैगरी डडेलधुरामा ३५ दशमलव ५ र डोटीमा ४१ दशमलव २८ प्रतिशत विद्याथी ग्रेडेड भएका छन् ।
यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी कैलाली जिल्लाबाट १४ हजार १ सय ४६ परीक्षार्थी रहेका थिए । सबैभन्दा कम डडेलधुराबाट १ हजार ९ सय ३४ परीक्षार्थी थिए ।
अघिल्लो वर्षको तुलनामा २०८२ मा सुदूरपश्चिम प्रदेशबाट एसईईमा सहभागी हुने विद्यार्थीको संख्या कम रहेको छ । अघिल्लो वर्ष २०८१ मा प्रदेशका नौ जिल्लाबाट ४५ हजार ७ सय ४ परीक्षार्थी रहेका थिए । सूचना अधिकारी हरिजनका अनुसार २०८२ मा एसइई परीक्षा दिने ४२ हजार ९ सय २९ जना रहेका थिए ।
अघिल्लो वर्ष ४ जीपीए ल्याएर उत्तीर्ण हुने ७ जना सबै कैलालीका थिए भने यस वर्ष कैलालीका ४ र कञ्चनपुरका ६ गरी १० जनाले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउने अधिकांश संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् ।
