नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि यातायात सञ्चालन भएको हो ।
What you should know
दार्चुला — महाकाली करिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्डको दुम्लिङमा गाडी पुगेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको उक्त सडक खण्डको दुम्लिङमा शनिबार सडकको ट्याक खोलिएसँगै साना सवारी साधन पुगेका हुन् ।
ब्यास गाउँपालिका–२ दुम्लिङसम्म पहिलो पटक गाडी पुगेका हुन् । सेनाले सडक स्तरोन्नतिको काम गरिरहेकै क्रममा शनिबार निर्माण सामग्री बोकेका ट्याक्टर र जिप दुम्लिङ पुगे । सेनाले निर्माण गरिरहेको उक्त सडकको ब्यास गाउँपालिका–३ तुसारपानीबाट सुरु हुन्छ । उक्त ठाउँदेखि १२ किलोमिटर दूरीमा दुम्लिङ गाउँ छ । सेनाले उक्त सडक खण्डमा तुसारपानीदेखि २२ किलोमिटर बढीको ट्याक खोलिए पनि गाडी भने १२ किलोमिटरसम्म गुड्न सक्ने सेनाले जनाएको छ ।
नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको व्यास क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौंदेखि यहाँका नागरिकले पैदलको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
ब्यास गाउँपालिका–२ को कल्जुपछीअगाडि दुम्लिङ गाउँमा सडक सञ्जालसँग जोडिएपछि स्थानीय हर्षित भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । उनले सेनाले निर्माण गरिरहेको सडकअन्तर्गत तल्लो दुम्लिङ–घट्ट क्षेत्रसम्म गाडी पुगेको छ । वर्षौंदेखि सडक पहुँचको प्रतिक्षामा रहेका ब्यास क्षेत्रका नागरिकका लागि यो महत्त्वपूर्ण उपलब्धि रहेको उनको भनाइ छ ।
दुम्लिङसम्म सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवतजावत तथा शिक्षा र अन्य सेवा सुविधामा सहजता आउने अपेक्षा गरिएको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि यातायात सञ्चालन भएको हो । नेपाली सेनाका अनुसार तुसारपानीदेखि टिंकरसम्म निर्माणाधीन कुल ७९ किलोमिटर सडकअन्तर्गत हालसम्म २२.१५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएको ब्यास क्षेत्र भौगोलिक रूपमा अत्यन्त विकट मानिन्छ । वर्षौंदेखि यहाँका नागरिकले पैदलमार्गको भरमा यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए । सडक विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
दुर्गम हिमाली क्षेत्र जोड्ने रणनीतिक महत्त्वको यस सडकले व्यास क्षेत्रका स्थानीयलाई यातायात, स्वास्थ्य, शिक्षा तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले दुम्लिङसम्म सडक र सवारी पुगेपछि दशकौंदेखिको यातायात समस्यामा राहत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली सेनाले आर्थिक वर्ष २०७७/७८ देखि उक्त सडक निर्माण अघि बढाउँदै आएको हो । हिमाली तथा चट्टानी भूभागमा कठिन परिस्थितिका बीच सडक निर्माण भइरहेको सेनाले जनाएको छ । रणनीतिक तथा विकासका दृष्टिले महत्त्व बोकेको यस सडकले सीमा क्षेत्रका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ ।
यसअघि सेनाले ब्यास गाउँपालिका–३ तुसारपानी हुँदै २ नम्बर वडाका माल, कोठेधार, कल्जु, आतुङती, तम्बाकु र दुम्लिङलगायत क्षेत्रमा सडक ट्रयाक खोल्ने तथा स्तरोन्नतिको काम गरिसकेको छ । बाँकी क्षेत्रमा सडक स्तरोन्नति तथा ट्रयाक खोल्ने काम निरन्तर जारी रहेको सेनाले जनाएको छ ।
यस्तै छाङरु–गागा क्षेत्रमा करिब २.३ किलोमिटर सडक ट्रयाकसमेत खोलिएको जनाएको छ । टिंकर नाका जोड्ने लक्ष्यसहित सडक निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइएको हो । ७९ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले बजेट अभावका कारण अपेक्षित गतिमा काम गर्न भने सकेको छैन ।
चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणमा ६ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ । न्यून बजेट विनियोजनका कारण गत वर्ष हेलिकप्टरमार्फत छाङरु पुर्याइएको एक्साभेटर मेसिन प्रयोगविहीन छ । यो वर्ष विनियोजन गरिएको बजेटमध्ये सडक निर्माण कार्यमा १ करोड मात्रै राखिएको छ । बाँकी बजेट छाङरुमा सेनाको क्याम्प निर्माण र मेसिन–उपकरण खरिदमा राखिएको छ । बजेट अभावकै कारण सेनाले गत मध्य माघ महिनादेखि वैशाख सुरुसम्म काम रोकेको थियो । उक्त सडक खण्डमा वैशाख दोस्रो साताबाट निर्माण कार्य पुनः सुरु गरिएको थियो ।
