विद्यार्थी लेक हिँडेपछि अपिहिमालका विद्यालयमा १५ दिन बिदा

स्थानीयको आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा संकलनका लागि अभिभावकसँगै विद्यार्थी लेकतिर हिँड्न थालेपछि गाउँपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।

वैशाख २६, २०८३

मनोज बडू

15-day holiday for schools in the Himalayas after students walk on the lake

What you should know

दार्चुला — अभिभावकसँगै विद्यार्थीहरु यार्सागुम्बा संकलनका लागि लेकतिर हिँडेपछि अपिहिमाल गाउउँपालिका विद्यालय दुई साताका लागि बन्द गरिएका छन् । आइतबारदेखि लागु हुने गरी अपिहिमालका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको हो । 

स्थानीयको आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा संकलनका लागि अभिभावकसँगै विद्यार्थीहरु लेकतिर हिँड्न थालेपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख २७ देखि पालिकाभरिका विद्यालय १५ दिनका लागि बन्द गरिनेछ । उनले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्न लागिएको जनाए ।

आम्दानीको मुख्य स्रोत नै यार्चागुम्बा भएकाले यो सिजनमा हिँड्न सक्ने जति बालबालिका तथा बृद्धबृद्धा लेकतिर जान्छन् । विद्यालय बन्द भएपछि विद्यार्थीसँगै शिक्षक पनि यार्सा पाटनतिर जाने गरेका छन् । 
गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ १० देखि पुन: सञ्चालनमा आउने जनाएको छ । अपिहिमाल गाउँपालिकाभर रहेका २२ सामुदायिक विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये अधिकांश विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा तथा अन्य जडीबुटी संकलनका लागि लेकतिर जाने गरेका छन् ।

स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले अधिकांश परिवारका सदस्य पाटन जाने गरेका छन् । स्थानीयवासी परिवारसहित लेकतिर लागेपछि उत्तरी क्षेत्रका गाउँ सुनसान देखिन थालेका छन् । उनीहरू पाटनमा आवश्यक पर्ने त्रिपाल, टेन्टसहित खाद्यान्न लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्रीसहित जाने गर्छन् ।

यार्सा सिजन सुरु भएसँगै जिल्लाका मार्मा, नौगाड र व्यास गाउँपालिकाका बासिन्दा पनि लेकतिर उक्लिएका छन् । कतिपय गाउँबाट घरमा ताला लगाएर स्थानीय लेकतिर उक्लिएको स्थानीय बताउँछन् । यतिबेला गाईबस्तु जंगलतिर छोड्ने र साना बालबालिकालाई आफूसँगै लगेर लेकतिर जाने गरेको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

उनले मध्य वैशाखदेखि जेठ अन्तिमसम्म गाउँका अधिकांश घरमा ताल्चा झुण्डिएको देखिने  बताए । ‘यो आम्दानी गर्ने मुख्य सिजन हो । यी दुई महिना हिँड्न नसक्ने, बालबालिका र बृद्धबृद्धा भएका घरमा मात्र मानिस भेट्न सकिन्छ,’ उनले भने । जिल्लामा सबैभन्दा बढी संकलक अपिहिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगंगा, कालीढुंगा, काटै, घट्टेखोला, धरमघर, क्षत्ती, चाइमटेलालगायतका क्षेत्रमा पुगेका छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully