विशेष महाधिवेशनपछि आयोजना हुन लागेको यो पहिलो प्रदेशस्तरीय कार्यक्रम भएकाले यसलाई राजनीतिक रुपमा चासोका साथ हेरिएको छ ।
कैलाली — कांग्रेसले विशेष महाधिवेशनपश्चात् प्रदेश र स्थानीय तहमा संगठनलाई चलायमान बनाउन सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा एवं प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । धनगढीमा शनिबारदेखि भेला सुरु हुन लागेको हो ।
भेलाबारे जानकार दिन शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । उक्त अवसरमा भेलाका लागि कांग्रेसका शीर्ष नेताहरू धनगढी आउने जानकारी दिइएको थियो । पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार उपसभापति विश्वप्रकाश शर्मा धनगढी पुगिसकेका छन् भने सभापति गगनकुमार थापा शनिबार बिहान आइपुग्ने छन् ।
भेलाको मुख्य उद्देश्य गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको विस्तृत समीक्षा गर्नु रहेको छ । साथै, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनको मूल्यांकन र पार्टीको सांगठनिक अवस्थाबारे समेत छलफल हुनेछ ।
विशेष महाधिवेशनपछि आयोजना हुन लागेको यो पहिलो प्रदेशस्तरीय कार्यक्रम भएकाले यसलाई राजनीतिक रुपमा चासोका साथ हेरिएको छ ।
