विद्युत् र टेलिकम सेवा अवरुद्ध हुँदा अछामका बासिन्दाले बिरामी पर्दा वा आपतमा पनि आफन्त र सेवाप्रदायकसँग समयमै सम्पर्क गर्न सकिरहेका छैनन्।
What you should know
अछाम — अछामका विभिन्न भेगमा सञ्चार र बिजुली भरपर्दो नहुँदा सर्वसाधरणले सास्ती खप्नु परिरहेको छ । मोबाइल नेटवर्कमा समस्या छ । केही ठाउँमा अहिलेसम्म बिजुली पुगेको छैन । मंगलसेन–१३, की मनसरा धामीका श्रीमान्, छोरा र बुहारी कामको सिलसिलामा भारतमा छन् । घरमा एक्ली मनसरालाई परदेशमा रहेका आफन्तको खबर थाहा पाउन महिनौं कुर्नुपर्छ ।
गाउँमा नेपाल टेलिकमको भरपर्दो नेटवर्क छैन । ‘मोबाइलमा टावर नै आउँदैन, आए पनि फोन लाग्दैन,’उनले भनिन, ‘परदेश गएका परिवारसँग कुरा गर्न कहिले अग्लो डाँडातिर दौडिनुपर्छ त कहिले नेटवर्क खोज्दै टाढा जानुपर्छ । तर धेरैजसो त सम्पर्क नै हुँदैन ।’ भारतमा रहेका परिवारसित राम्रोसँग कुरा हुन नपाएको तीन/चार महिना पुगेको उनले बताइन । नगरपालिकाकै बासिन्दा सञ्चार र बिजुलीबाट टाढा छन् ।
मंगलसेन–७, की खन्टी जैसीको उस्तै पीडा छ । ‘फोनमा टावर देखाउँदैन, कहिलेकाहीँ त फोन आउँछ । लाग्छ पनि, तर बोलेको सुनिँदैन,’उनले भनिन, ‘बिरामी पर्दा, गाह्रोसाह्रो पर्दा कसैलाई खबर गर्ने अवस्था छैन ।’
नेपाल टेलिकमले देशभरि पुरानो टु–जी प्रविधिलाई विस्थापन गरी फोर–जी जडान गर्ने प्रक्रिया अघि बढाएको छ । अछाममा रहेका ४५ वटा टावरमा यो काम भइरदा नेटवर्कमा समस्या आएको दूरसञ्चार कार्यलय प्रमुख कमलबहादुर विकले बताए । प्रविधिमा स्तरोन्नतिको क्रममा उपभोक्ताले झन् सास्ती खेप्नुपरिरहेको छ । उनका अनुसार टु–जी फेज आउट गर्ने क्रममा विशेष गरी अडियो (आवाज) मा समस्या देखिएको हो ।
‘हामी ४५ वटै टावरलाई फोर–जी मा लैजाँदै छौं । यस चरणमा प्राविधिक कठिनाइ आइरहेका छन्,’ उनले भने, ‘साँफेबगर, विनायक, कालिका र बयलपाटा जस्ता मुख्य टावरको काम सकिएको छ । मंगलसेन–६ ठूलासृनको टावरका लागि उपकरण पुगिसकेको छ । केही दिनमै काम सुरू हुन्छ ।’ टेलिफोनमा देखिएको समस्या चालु आर्थिक वर्षको अन्तिमसम्म हुन सक्ने उनले बताए ।
जिल्लामा टेलिकम सेवा प्रभावकारी नहुनुको अर्को कारण भरपर्दो विद्युत् आपूर्ति नहुनु पनि हो । जिल्लाका धेरैजसो टावर अझै पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छैनन् ।
टेलिकम कार्यलय प्रमुख विकका अनुसार जिल्लाका कतिपय क्षेत्रमा अझै पनि केन्द्रीय प्रसारण लाइन नपुगेका कारण त्यहाँका टावरहरू पूर्ण रूपमा सोलार ऊर्जाकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । ‘बिजुली नपुगेका ठाउँमा सोलारकै भरमा फोर–जी स्तरोन्नतिको काम गर्नुपर्ने चुनौती छ । फोर–जी का उपकरणले बढी पावर तान्छन्, तर सोलारले सधैं लोड धान्न सक्दैन,’ उनले भने ,‘घाम नलाग्दा , बादल लाग्दा पावर डाउन हुन्छ र टावर नै बन्द हुन्छ । यो समस्याले गर्दा हामीलाई पनि उपभोक्ताबाट धेरै गुनासो आइरहेको छ ।’
टावरमा पावर सर्टडाउन हुनेबित्तिकै सिंगो क्षेत्रको सञ्चार सेवा पूर्ण रूपमा ठप्प हुने गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका अनुसार अनुसार जिल्लाका १० स्थानीय तहमध्ये अहिलेसम्म साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिका मात्रै पूर्ण विद्युतीकरण भएका छन् । बाँकी पालिका विद्युतको पहुँच बाहिर छन् । मंगलसेन–१३, का बाँडा र डाँडिगडे क्षेत्र अन्धकार छन् । कमलबजार–७, का क्वाल्लेख, जामा, फल्टाने, तान्ती र सुनदेवीलगायत बस्ती अझै विद्युत्विहीन छन् । ढकारी गाउँपालिकाका ८ मध्ये १ र ६ नम्बर वडामा मात्रै बिजुली पुगेको छ । पञ्चदेवल विनायक नगरपालिका–९, को कालेकाँडा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छैन । यहाँ दैलेखबाट लाइन विस्तार गर्ने तयारी भइरहेको छ ।
तुर्माखाँद गाउँपालिकामा भौगोलिक विकटताका कारण दुर्गम बस्तीमा काम गर्न कठिन भइरहेको प्राधिकरणले जनाएको छ । तुर्माखाँद–२ र ३ का वडा कार्यालयसम्म मात्रै बिजुली पुगेको छ । मेल्लेखको ऋषिदहमा तत्काल लाइन विस्तार गर्न सक्ने अवस्था छैन । चोरपाटीका केही वडामा विद्युतीकरण बाँकी छ । रामारोशन–७, सुतार र बाटुलासैनका दुर्गम बस्तीमा विद्युत् पुग्न बाँकी छ ।
