प्रहरीले नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले ‘खुकुरी’ ब्रान्डका नक्कली चुरोट बरामद गरेको हो।
बझाङ — प्रहरीले नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले ‘खुकुरी’ ब्रान्डका नक्कली चुरोट बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश ००१ क २५५२ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा साढे नौ कार्टुन नक्कली चुरोट फेला पारेको प्रहरीले जनाएको छ। चुरोटसहित पक्राउ पर्नेमा ट्रक चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरी र बैतडीको पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेय रहेका छन्।
खुकुरी चुरोटका अन्य कार्टुनमा रहेको अन्तःशुल्क स्टिकर र बरामद गरिएको चुरोटमा रहेको स्टिकर फरक पाइएपछि चुरोट नक्कली भएको आशंकामा नियन्त्रणमा लिइएको बझाङका प्रहरी प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए।
'हामीले खुकुरी चुरोटका आधिकारिक उत्पादक सूर्य नेपालका प्रतिनिधि र अन्तःशुल्कका प्रतिनिधिलाई पनि यसबारे बुझ्न बझाङ बोलाएका छौँ,' उनले भने, 'उहाँहरू आइसकेपछि यथार्थ के हो थाहा हुन्छ।' उनले मिनी ट्रकमा विभिन्न पसलका सामान ओसार्ने क्रममा चुरोट बरामद भएको बताउँदै अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जानकारी दिए।
बरामद गरिएको चुरोटको बजार मूल्य करिब साढे पाँच लाख रुपैयाँ बराबर रहेको उनको भनाइ छ।
