बीऊ आलु उत्पादन बढाउँदै डडेल्धुराका किसान

डडेल्धुराबाट उत्पादित बीऊ आलु बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर, दार्चुला र दैलेखसम्म बिक्री हुन थालेको छ ।

वैशाख १०, २०८३

तर्कराज भट्ट

Dadeldhura farmers increasing seed potato production

What you should know

डडेल्धुरा — आलु उत्पादन बढ्दै गएको सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा बीऊ आलुबाट पनि चर्चामा आउन थालेको छ । बीऊ आलुबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय किसान यसको उत्पादन बढाउन थालेका छन् ।  

डडेल्धुराबाट उत्पादित बीऊ आलु बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर, दार्चुला र दैलेखसम्म बिक्री हुन थालेको छ । चालु आर्थिक वर्षमा मात्र करिब २ हजार क्विन्टल बीऊ आलु जिल्लाबाहिर बिक्री भएको तथ्यांक छ । जसमा ८०० क्विन्टल हिउँदे र १२०० क्विन्टल बर्खे आलुको बीऊ रहेको छ । ठूलो परिमाणमा बीऊ आलु बाहिरिँदा किसानहरूले १ करोड ३३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

गन्यापधुरा गाउँपालिका–१ का किसान खेमराज अवस्थीले आफूले उत्पादन गरेको बीऊ आलु बझाङ, बैतडी, डोटी, अछाम, कैलाली र कञ्चनपुरसम्म बिक्री गर्दै आएको बताए । उनले पछिल्लो समय बीऊ आलुको माग बढ्दै जाँदा उत्पादन बढाउन उत्साहित भएको बताए । तर, तराईका जिल्ला कैलाली र कञ्चनपुरसागको खुला सीमाका कारण भारतबाट सस्तो मूल्यमा आलु भित्रिने हुँदा स्थानीय किसान केही हदसम्म प्रभावित भएका छन् । सस्तो आयातित आलुले बजारमा प्रतिष्पर्धा बढाउने र स्थानीय उत्पादनको मूल्य घटाउने दबाब सिर्जना गर्ने गरेको किसान अवस्थी बताउँछन्। 

उनका अनुसार उत्पादन लागत बढी पर्ने पहाडी क्षेत्रका किसानले उचित मूल्य पाउन संघर्ष गर्नुपरेको छ । यद्यपि, यस्ता चुनौतीका बीच पनि बीऊ आलुको बढ्दो माग र बजार विस्तारले किसानलाई आलु खेतीमा टिकिरहन र थप लगानी गर्न प्रेरित गरिरहेको छ ।

यस्तै अमरगढी नगरपालिका–१ का किसान धर्म भट्टले पनि बझाङ, अछाम, डोटी, दार्चुला, बैतडी र दैलेखसम्म बीऊ आलु पठाउँदै आएको बताए। उनले बीऊ आलुबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित भइरहेको बताए । यहाँ उत्पादन हुने आलु चितवनसम्म पुगेर बिक्री हुँदै आएको छ । स्वादिलो र गुणस्तरीय भएकाले यहाँको आलुको बाहिरी बजारमा माग राम्रो रहेको भट्टले बताए।

डडेल्धुरा सदरमुकाम आसपासका तडीबाटा, भेटा, भातकाँडालगायतका क्षेत्रसहित जिल्लाभरि नै आलु खेती विस्तार हुँदै गएको छ। उपयुक्त हावापानी र माटोका कारण यहाँ उत्पादित आलु गुणस्तरीय हुने भएकाले किसान व्यावसायिक रूपमा आलु खेतीतर्फ आकर्षित भइरहेका कृषि प्राविधिकहरु बताउँछन्। बीऊ आलु उत्पादन र बिक्रीबाट राम्रो आम्दानी लिन थालेपछि धेरै किसानले आफ्नो व्यवसायिक खेतीको रुफमा विस्तार गरेका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यत्रम कार्यान्वयन एकाइ (आलु सुपरजोन) डडेल्धुराका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेतले बीऊ आलुको उत्पादन, व्यवस्थापन र बजार विस्तारलाई व्यवस्थित बनाउने गरी कार्यक्रममार्फत काम गरिरहेको बताए। उनले डडेल्धुरामा उत्पादन हुने बीऊ आलुलाई अब व्यवस्थित रूपमा पहिचानसहित बजारमा लैजाने तयारी समेत गरिएको बताए।

उनका अनुसार डडेल्धुरामा वर्षमा दुई सिजनमा आलु खेती हुँदै आएको छ। हिउँदे आलु असोज–कात्तिकमा रोपेर मंसिर–पुसमा भित्र्याइन्छ भने बर्खे आलु माघ–फागुनमा रोपेर जेठ–असारमा उत्पादन हुन्छ। जिल्लामा ११ सय २२ हेक्टर बढी क्षेत्रफलमा आलु खेती भइरहेको र प्रतिहेक्टर ३० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले बताए।

बीऊ आलुको गुणस्तर र विश्वसनीयता कायम गर्न यस वर्षदेखि ट्यागिङ प्रणाली लागू गरिने भएको छ। ट्यागिङमार्फत बीऊको स्रोत, उत्पादन भएको स्थान र उमारशक्ति सम्बन्धी विवरण खुल्ने छ। बस्नेतले ट्यागिङ प्रणाली लागू गर्दा भविष्यमा बीऊमा कुनै समस्या देखिए जिम्मेवारी निर्धारण गर्न सहज हुने बताए।

उनले बीऊबिजन ऐनअनुसार ट्याग बिनाको सामग्रीलाई बीऊका रूपमा मान्यता नदिइने भएकाले प्रमाणीकरण प्रक्रिया अनिवार्य बनाइन लागेको बताए । यसअघि सामान्य रूपमा बिक्रीवितरण गरिँदै आएको बिउ आलुलाई आगामी वर्षदेखि व्यवस्थित रूपमा प्रमाणीकरण गरेर वितरण गरिने योजना रहेको उनको भनाई छ। 

कञ्चनपुरको सुन्दरपुरस्थित बीऊबिजन प्रयोगशाला तथा काठमाडौंस्थित बीऊबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्राविधिकहरूलाई समन्वय गरेर बीऊ परीक्षण तथा प्रमाणीकरण गरिएको र आगामी दिनमा व्यवहारिक रुपमा प्रयोगमा ल्याइने वरिष्ठ कृषि अधिकृत बस्नेतले बताए। आगामी वर्षमा अझ व्यवस्थित रूपमा ट्यागिङसहित बीऊ उत्पादन र वितरण गर्ने योजना रहेको उनले बताए।

कार्यक्रम अन्तर्गत बीऊ उत्पादन गर्ने किसानहरूलाई तालिम प्रदान गरिएको छ । उत्पादनदेखि भण्डारण र बजार व्यवस्थापनसम्मका विषयमा प्राविधिक सहयोग समेत दिइँदै आएको छ। किसानहरूलाई अनुदानमा बीऊ उपलब्ध गराउने, उत्पादन क्षेत्र विस्तार गर्ने र गुणस्तरीय बीऊ उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बस्नेतले बताए।

तर्कराज

Link copied successfully