बझाङमा कृषि बिमा अभियान सुरु, अनुदान लिनेलाई अनिवार्य

बझाङमा पशुचौपायाको हकमा सीमित कृषकले बिमा गर्ने अभ्यास रहे पनि बालीनाली र जडीबुटी खेतीको बिमा गर्नेको संख्या शून्य रहेको छ ।

वैशाख ५, २०८३

वसन्तप्रताप सिंह

Agricultural insurance campaign launched in Bajhang, mandatory for those receiving subsidies

What you should know

बझाङ — विभिन्न विपद्मा परेर कृषि व्यवसायमा क्षति व्यहोर्दै आएका बझाङका कृषकले अब कृषि बिमाको सुविधा पाउने भएका छन् । बिमा सुविधालाई जिल्लाभर विस्तार गर्न अभियानको रुपमा संचालन गरिने जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । 

कृषि ज्ञान केन्द्रले राष्ट्रिय बिमा कम्पनीसँग समन्वय गरेर बझाङका २५ जना अभिकर्तालाई कृषि बिमा सम्बन्धी तालिम दिइसकेको छ । पशुचौपायाको हकमा सीमित कृषकले बिमा गर्ने अभ्यास रहे पनि बालीनाली र जडीबुटी खेतीको बिमा गर्नेको संख्या शून्य रहेको छ । 

यसले प्रत्येक वर्ष विभिन्न मौसमी घटना, आगलागी, रोगकिरा जस्ता कारणले व्यवसायिक कृषि गरिरहेकाहरुले ठूलो क्षति भोग्नु परेकोले कृषकको मनोबल बढाउन बिमा अभियान सुरु गर्न लागिएको ज्ञान केन्द्रले जानकारी दिएको छ । बिमा सम्बन्धी सचेतना अभावका कारण पनि बाली र जडीबुटीको बिमा हुन नसकेकाले तालिम प्राप्त अभिकर्ताले सम्झाई बुझाइ गरेर बढी भन्दा बढी कृषकलाई यसको दायरामा ल्याइने ज्ञान केन्द्रका प्रमुख जनकबहादुर सिंहले बताए ।

‘सरकारी अनुदान लिएका कृषकलाई अनिवार्य बिमा गर्नुपर्ने व्यवस्थासहित अभियान सुरु गर्दै छौं,’ उनले भने, ‘अनुदान नलिएर पनि कृषिको काम गरिरहेकाहरुलाई बिमा गर्न प्रोत्साहित गर्ने काम अभिकर्ताहरुले गर्ने र धेरै भन्दा धेरै कृषकलाई विमाको दायरामा ल्याउने तयारी छ ।’ उनले तालिम प्राप्त अभिकर्ता सबै कृषि प्राविधिक भएको र जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व गर्ने भएकोले जिल्लाभर बिमा अभियान फैलिने बताए । 

तालिम प्राप्त अभिकर्तामार्फत किसानको बाली तथा पशुधनको मूल्यांकन गरिने र कुल मूल्यांकनको सात प्रतिशत रकम बिमा वाफत तिर्नुपर्ने व्यवस्था छ । बिमाको लागि तिर्नुपर्ने कुल रकमको ८० प्रतिशत नेपाल सरकारले अनुदान दिने र कृषकले २० प्रतिशत मात्रै व्यहोर्नुपर्ने हुन्छ । यो बिमामा थप दुई सय रुपैयाँ तिरेपछि किसानको समेत दुर्घटना बिमा हुने एक अभिकर्ता ईश्वर धरालाले बताए । 

किसानले बालीनाली र पशुपन्छीमा गरेको लगानी वा लगानीबाट उत्पादन भइसके पछि पाउने प्रतिफललाई मूल्यांकन गरेर त्यसकै आधारमा बिमा गर्न पाइने उनले बताए । ‘थोरै क्षेत्रफलमा लगाएको बालीनाली वा एक/दुई वटा पशुचौपायादेखि व्यवसायिक फर्महरुको मूल्यांकन गरेर विमा गर्न सकिन्छ,’ उनले भने, ‘लागत वा प्रतिफल के का आधारमा बिमा गर्ने भन्ने छनौट किसानले गर्न पाउँछ ।’ बिमाको प्रिमियम रकमको ८० प्रतिशत सरकारले अनुदान दिने भएकाले कृषकले तिर्नुपर्ने रकम ज्यादै न्यून हुने भएकाले धेरै कृषक बिमामा समेटिने उनको विश्वास छ । 

बझाङ जस्तो दुर्गम र जलवायुजन्य जोखिम उच्च रहेको जिल्लाका किसानलाई सम्भावित जोखिमबाट सुरक्षित बनाउन कृषि ज्ञान केन्द्रले पहल गरिरहेको र स्थानीय तहमै अभिकर्ताहरु हुँदा कृषकलाई बिमा गर्न सजिलो हुने राष्ट्रिय बिमा बोर्डकी व्यवस्थापक कविता लामाको भनाई छ । ‘पालिका स्तरमै अभिकर्ता उपलब्ध भए पछि किसानलाई बिमाबारे जानकारी गराई  कृषि, पशुपन्छी र जडीबुटीमा हुने सम्भावित जोखिम कम गर्न सहयोग पुग्ने छ,’ उनले भनिन्, ‘बिमाको व्यवस्थाले साना किसानलाई मात्रै नभएर कृषि, पशुपन्छी र जडीबुटीको क्षेत्रमा ठूलो लगानी गर्नेहरु पनि डुब्ने जोखिम घटाउँछ ।’ उनले बिमाको सुविधा भए पछि यस क्षेत्रमा लगानी गर्नेहरु पनि बढ्ने बताइन् ।  

बझाङमा हालसम्म करिब एक हजार पाँच सय कृषक पशुधन बिमामा आबद्ध भए पनि कृषिबाली र जडीबुटीको बिमा हुन सकेको छैन । बिमामा आवद्ध भइसकेपछि क्षतिको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाइने व्यवस्था रहेको छ । साथै कृषकको पनि दुर्घटना बिमा हुने भएकाले न्यून आर्थिक अवस्था भएका र कृषि पेशामा आवद्ध भएकाहरुलाई सहयोग पुग्ने उनको भनाई छ । ‘बिमा अभियानले कृषकलाई आर्थिक सुरक्षा मात्रै नभएर यस क्षेत्रमा नयाँ आशा जगाउने छ भन्ने हाम्रो विश्वास छ,’ उनले भनिन् । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully