ओझेलमा बिसुको रौनक

लठ्ठी पूजा, देउडा खेल, बाघ–स्यालको नाचजस्ता गतिविधिले बिसु पर्वको सांस्कृतिक गहिराइलाई झल्काउँछ।

वैशाख १, २०८३

मोहन पनेरु

The glory of Bisku is fading away

What you should know

डोटी — सुदूरपश्चिम प्रदेशमा मनाइने बिसु पर्व केवल एक चाड मात्र नभएर यो यहाँको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण कडी पनि हो। तर, गाउँमा मानिसहरूको बसोबास पातलिएसँगै अहिले यसको रौनक पनि हराउँदै गएको छ ।

नयाँ वर्षको सुरुवातसँगै मनाइने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र पुराना संस्कारको संरक्षणलाई जोड दिन्छ। लठ्ठी पूजा, देउडा खेल, बाघ–स्यालको नाचजस्ता गतिविधिले बिसु पर्वको सांस्कृतिक गहिराइलाई झल्काउँछ।

विगतका वर्षमा बिसु पर्व आउँदा गाउँघरमा छुट्टै रौनक देखिन्थ्यो। आफन्त भेटघाट, सामूहिक रमाइलो र संस्कृतिको संरक्षणमा सबैको सक्रिय सहभागिता रहने गर्थ्यो। तर पछिल्ला वर्षमा भने यस पर्वको त्यो पुरानो छवि बिस्तारै हराउँदै गएको सरोकारवालाले बताए।

स्थानीय टेक बानियाँ भन्छन्, 'बिसु हाम्रो पहिचान र संस्कृतिको आधार हो। पहिले गाउँभरि मिलेर मनाउँथ्यौं, देउडा खेल्थ्यौं, लठ्ठी पुज्थ्यौं। अहिले मान्छे नै कम भए, त्यसैले त्यो पुरानो रमाइलो देखिन छाड्यो।' उनको भनाइमा बिसु पर्वले पुस्तौंदेखि चलिआएको संस्कारलाई जोगाउने काम गर्दै आएको भए पनि अहिले त्यो परम्परा संकटमा पर्न थालेको छ।

त्यस्तै, अर्का स्थानीय विजय साउँदको भनाइ पनि उस्तै छ। उनी भन्छन्, 'बिसु केवल पर्व होइन, यो हाम्रो जीवनशैलीसँग जोडिएको परम्परा हो। तर अहिले बसाइँसराइका कारण गाउँ सुनसान बन्दै गएका छन्। युवा पुस्ता बाहिरिएपछि चाडपर्व मनाउने उत्साह पनि घट्दै गएको छ।'

बसाइँसराइले सुदूरपश्चिमका गाउँहरू खाली बन्दै गएका छन्, जसको प्रत्यक्ष असर यस्ता सांस्कृतिक पर्वहरूमा परेको उनीहरूको भनाइ छ। रोजगारी, शिक्षा र सुविधा खोज्दै सहर तथा विदेश जाने क्रम बढेसँगै गाउँमा बसोबास गर्नेहरूको संख्या घटेको छ। परिणामस्वरूप, बिसु पर्व जस्तो सामूहिक रूपमा मनाइने चाडमा सहभागिता कम हुँदै गएको छ।

बिसु पर्वले केवल रमाइलो मात्र होइन, सामाजिक एकता, परम्परागत ज्ञान र सांस्कृतिक पहिचानलाई जोगाउने सन्देश दिन्छ। तर यसको मौलिकता हराउँदै जानु चिन्ताको विषय बनेको स‌ंस्कृतिविद्हरूहरूको भनाइ छ। संस्कृतिको संरक्षणका लागि समुदाय, स्थानीय तह र सरोकारवाला निकायले मिलेर पहल गर्नुपर्ने उनीहरू औंल्याउँछन् ।

मोहन

Link copied successfully