बैतडीमा भन्सार छलीका सामानसहित सवारी साधन नियन्त्रणमा

भन्सार छली गरी ल्याएका २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिस्री र केही पेय पदार्थसहित सुपप्र०१ ००१च२७८९ नम्बरको बलेरो पिकअप र सुपप्र०१ ००२त५०९० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

चैत्र ३०, २०८२

मोहन चन्द

Vehicles carrying customs-evading goods seized in Baitadi

बैतडी — जिल्लामा भन्सार छलीका सामानसहित बलेरो पिकअप र ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि भन्सारलाई बुझाएको छ । 

जिल्लाका विभिन्न ठाउँमा केही दिनदेखि नै भन्सार छलीका सामान भित्रिँदैछन् भन्ने सूचना पाएपछि जिल्लाबाट सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेयको नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । 

पाण्डेयको नेतृत्वको मोबाइल गस्ती टोलीले आइतबार बिहान पञ्चेश्वर गाउँपालिका– ४ हल्दु बिनायकबाट २१ लाख ८ हजार ८ सय १० रुपैयाँ बराबरका अवैध सामानसहित बलेरो पिकअप र ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

‘भन्सार छलीका सामान ल्याइरहेका व्यक्तिहरू भने प्रहरीको टोली देख्ने बित्तिकै सवारी साधन नै छोडेर भागेका थिए,’ उनले भने, ‘बरामद गरिएका अवैध सामानसहित सवारी साधनलाई आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाएका छौं ।’ 

भन्सार छली गरी ल्याएका २३ क्विन्टल चिनी, पाँच क्विन्टल मिस्री र केही पेय पदार्थसहित सुपप्र०१ ००१च२७८९ नम्बरको बलेरो पिकअप र सुपप्र०१ ००२त५०९० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले भन्सारलाई भन्सार छलीका सामानसहित नियन्त्रणमा लिएका सवारी साधन बुझाइसकेको र केही दिनभित्रै लिलामी प्रक्रिया अगाडि बढाइने महाकाली भन्सार कार्यालय बैतडीका प्रमुख लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully