परम्पराअनुसार माइती पक्षबाट दिदीबहिनी र छोरीचेलीलाई भेट्न जाने चलन छ । दार्चुला र बैतडीमा यस्तो प्रचलन रहेको छ । पछिल्लो समय बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुरसम्म यो परम्परा फैलिएको छ ।
What you should know
डडेलधुरा — सुदूरपश्चिमका पहाडमा चैत महिनामा आफ्ना चेली ‘भेटौलो’ परम्परा रहेको छ । परम्पराअनुसार माइती पक्षबाट दिदीबहिनी र छोरीचेलीलाई भेट्न जाने चलन छ । दार्चुला र बैतडीमा यस्तो प्रचलन रहेको छ ।
पछिल्लो समय बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुरसम्म यो चलन फैलिएको छ । यहाँबाट बसाइँ सरेर गएकाहरूले आफू रहेको स्थानमा समेत यसलाई निरन्तरता दिएका छन् । विवाहपछि टाढिएका चेलीलाई सम्झिने र भेटघाट गर्ने परम्परा पुस्तौंदेखि यहाँ कायम छ ।
चैत महिनाभर दाजुभाइ तथा माइती पक्षका आफन्तहरू विवाहित छोरी–चेलीको घरमै पुगेर भेट्ने गर्छन् । उनीहरू खाली हात जाँदैनन् । सेलरोटी, खिर, हलुवा, गुड, मिश्री, फलफूल तथा लत्ताकपडा लिएर जाने चलन छ । यो परम्परा भेटघाट मात्र नभएर माया, सम्झना र पारिवारिक सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिइन्छ ।
अमरगढी नगरपालिका–५ की लक्ष्मी साउदका अनुसार चेलीहरू जति टाढा भए पनि चैतमा भेट्न जाने चलन कायम छ । उनका अनुसार दाजुभाइले जसरी पनि भेट्नै पर्ने सामाजिक मान्यता छ । टाढा बसोबास गर्ने दाजुभाइ पनि चैतमा सकेसम्म चेलीको घरमै पुग्ने प्रयास गर्छन् । यसै कारण चैत लागेपछि दिदीबहिनीहरू ‘दाजु कहिले आउलान्’ भन्ने आशामा बाटो हेर्ने परम्परा अझै देखिन्छ । भेटौलोका क्रममा मिठा परिकारसँगै लुगा–कपडा दिने चलनले पारिवारिक स्नेह झन् गाढा बनाउने गर्छ।
रोजगारी, अध्ययन वा अन्य अवसरका कारण घरबाट टाढा बसेका पुरुषका लागि पनि चैत महिना विशेष अर्थ बोकेको हुन्छ । सुदूरपश्चिमबाट बाहिरिएर धनगढी, महेन्द्रनगरदेखि काठमाडौंसम्म बसोबास गरिरहेका उनीहरू यो समयमा आफूले जन्मिएको घरसँगको सम्बन्ध जोगाउने प्रयत्नमा देखिन्छन् । वर्ष दिनको व्यस्त जीवनबीच यो अवधि पारिवारिक भेटघाटको अवसरका रूपमा लिइन्छ । त्यसैले समय मिलाएर विवाहित दिदीबहिनीको घरसम्म पुग्ने परम्परा अझै कायम छ । यसरी जाँदा उनीहरूले सानो–ठूलो कोसेली बोकेर जाने गर्छन्, जसले आत्मीयता प्रकट गर्ने माध्यमको काम गर्छ ।
स्थान परिवर्तन भए पनि संस्कार नछुटेको उदाहरणका रूपमा यो अभ्यासलाई लिइन्छ । यता, बहिनीहरू पनि यो समयमा आफन्तको आगमनको आशामा रहन्छन्, जसले पारिवारिक सम्बन्धलाई भावनात्मक रूपमा अझ नजिक बनाउने काम गर्छ । आधुनिक जीवनशैली र बसाइँसराइको प्रभावका बाबजुद पनि यस्तो सांस्कृतिक अभ्यासले सम्बन्धको डोरी कसिलो बनाइरहेको देखिन्छ ।
डडेलधुराको भागेश्वर गाउँपालिका–४ की लक्ष्मीदेवी भाटले पुरानो चलनअनुसार आफू पनि छोरीको घरमा गएर भेटघाट गर्ने गरेको बताइन् । यो वर्ष गत हप्ता मात्रै छोरीको घरमै पुगेर भेटेर आएको बताईन्। उनका अनुसार गुड, फलफूल र सेलरोटी लिएर चेलीलाई भेट्न जाने प्रचलन अहिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । धार्मिक विश्वासका आधारमा पनि भेटौलोको महत्त्व जोडिएको छ । चैत महिनामा छोरीचेलीलाई दान–दक्षिणा वा उपहार दिए राम्रो फल मिल्ने जनविश्वासका कारण यो परम्परा कमजोर हुन पाएको छैन । विगतमा सञ्चारको अभाव, खेतीपातीमा व्यस्तता र वर्षभर सन्चो–बिसन्चो थाहा नपाउने अवस्थाले पनि चैतमा भेटघाट गर्ने चलन बसेको संस्कृतिविद्हरू बताउाछन् ।
संस्कृतिका जानकार रामचन्द्र भट्टका अनुसार बसन्त ऋतुमा माइतीको सम्झना बढी हुने भएकाले दाजुभाइले चेलीलाई भेट्ने परम्परा विकसित भएको हो । उनका अनुसार भेटका क्रममा मिठाइ, पकवान, फलफूल र लत्ताकपडा दिने तथा एकअर्कालाई आशीर्वाद दिने चलनले पारिवारिक सम्बन्धलाई मजबुत बनाउँछ । बैतडीकी कमला अवस्थीले चैतमा धुलो भुट्ने, बाडी भुट्ने र गुड लिएर छोरीचेलीलाई भेट्ने चलन अझै कायम रहेको बताइन् । त्यस्तै, मेलौलीका ७३ वर्षीय भवानी बिष्टका अनुसार विवाहपछि अर्काको घरमा गएका चेलीलाई सम्झने र मायाको सम्बन्ध कायम राख्ने उद्देश्यले यो परम्परा सुरू भएको हो।
वसन्त ऋतुमा प्रकृतिसँगै मानवीय भावना पनि संवेदनशील हुने भएकाले चेलीहरूको मनमा माइतीको सम्झना झन् गहिरो हुने मानिन्छ । न्याउली र कोइलीको आवाजसँगै आउने यो भावनात्मक समयले भेटौलोलाई सांस्कृतिक रूपमा अझ अर्थपूर्ण बनाएको संस्कृतिका जानकार मुरलीधर अवस्थी बताउँछन् । उनका अनुसार भाइटीकामा दिदीबहिनी माइती जाने र भेटौलोमा दाजुभाइ चेलीको घर पुग्ने चलनले दुवैतर्फको सम्बन्ध सन्तुलित राख्ने काम गर्छ ।
डडेलधुरा, डोटी, अछाम र बाजुरालगायतका जिल्लामा माघ महिनामा यस्तै प्रकारको ‘माघी त्यार’ दिने चलन रहिआएको छ । यस परम्पराअनुसार माइती पक्षका दाजुभाइ तथा आफन्तहरू विवाहित दिदीबहिनी तथा छोरीचेलीको घरमा पुगेर भेटघाट गर्ने गर्छन् । भेटका क्रममा घरमा तयार गरिएका खानेकुरा, अन्न तथा सामान्य उपहार लिएर जाने चलन छ।
