सशस्त्र प्रहरीले कञ्चनपुर र कैलाली सीमामा १८० जना थप जनशक्ति परिचालन गरी अवैध गतिविधि नियन्त्रणमा कडाइ गरेको छ।
कञ्चनपुर — सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमामा जनशक्ति बढाएर अवैध गतिविधि नियन्त्रणमा कडाइ गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले केही दिनअघि सुदूरपश्चिम प्रदेशको स्थलगत भ्रमण गर्दै मातहत निकायलाई प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि निर्देशन दिएका थिए ।
उनकै निर्देशनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले कञ्चनपुर र कैलालीका सीमा क्षेत्रमा सुरक्षा सुदृढ गर्न थप जनशक्ति परिचालन गरेको हो । बाहिनीका अनुसार दुवै जिल्लामा ९०/९० जना गरी कुल १८० जना सशस्त्र प्रहरी थप गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक दिग्विजय सुवेदीका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न अतिरिक्त जनशक्ति परिचालन गरिएको हो । 'सीमा क्षेत्रमा निगरानी बढाउने, अवैध चोरी तस्करी नियन्त्रण गर्ने र समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले थप जनशक्ति परिचालन गरिएको हो,' निमित्त बाहिनीपति सुवेदीले भने । साथै सम्भावित विपद् जोखिम क्षेत्रको अध्ययन तथा विश्लेषणसमेत गरिने तयारी रहेको छ ।
उनका अनुसार परिचालित जनशक्तिलाई ३०/३० जनाका तीन समूहमा विभाजन गरिएको छ । ती टोलीलाई एक दिन, एक रात र आकस्मिक अवस्थाका लागि पालैपालो तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ । कैलालीमा नम्बर ३४ गण र कञ्चनपुरमा नम्बर ३५ गण मार्फत ती टोली परिचालन गरिएको बाहिनीले जनाएको छ ।
