सुदूरपश्चिमका १७ पालिकामा ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ लागू

दार्चुला र बाजुराबाहेकका जिल्लामा सञ्चालनमा आएको यो कार्यक्रमले किसानलाई परम्परागत खेतीबाट बढी आम्दानी दिने तरकारी, फलफूल, मसला तथा औषधिजन्य बालीतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

चैत्र २४, २०८२

तर्कराज भट्ट

'High Value Agricultural Commodity Upliftment Program' implemented in 17 municipalities in the Far West

What you should know

डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका १७ वटा स्थानीय तहमा उच्च मूल्यका कृषि बाली उत्पादन बढाउने उद्देश्यसहित ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम’ लागू गरिएको छ ।

दार्चुला र बाजुराबाहेकका जिल्लामा सञ्चालनमा आएको यो कार्यक्रमले किसानलाई परम्परागत खेतीबाट बढी आम्दानी दिने तरकारी, फलफूल, मसला तथा औषधिजन्य बालीतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।

किसानलाई परम्परागत कम आम्दानी दिने खेतीबाट उच्च मूल्यका कृषि बालीतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था सहकारी मन्त्रालय अन्तरगतको ‘उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, प्रदेश कार्यक्रम व्यवस्थापन कार्यालय’को प्रादेशिक कार्यालय स्थापना गरिएको हो।

कृषकको आम्दानी वृद्धि, उत्पादन प्रणालीको आधुनिकीकरण तथा बजार व्यवस्थापन सुधारलाई केन्द्रमा राखेर सुरु गरिएको कार्यक्रमले तरकारी, फलफूल, मसला तथा आलु खेतीमा विशेष जोड दिने जनाएको छ। साथै, अर्गानिक खेती प्रवर्द्धन कार्यक्रमको प्राथमिकतामा राखिएको छ।

प्रादेशिक कार्यालयका सहायक कृषि अर्थविज्ञ खेमराज पनेरुले सुदूरपश्चिमका सात पहाडी जिल्लमध्ये दार्चुला र बाजुराबाहेक अन्य पाँच जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिए। उनका अनुसार हाल पाँच जिल्लाका १७ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन हुन लागेको हो।

उनले उच्च मूल्यका कृषि वस्तुको उत्पादन वृद्धि र उत्पादकत्व बढाउने मुख्य उद्देश्य रहेको बताए। ‘यो पूर्णरूपमा किसानमुखी कार्यक्रम हो,’ उनले भने, ‘छनोट भएका पालिकामा पाँच वर्षे कृषि रणनीति तयार गरिनेछ र सोही रणनीतिअनुसार किसानको आवश्यकता, झौगोलिक अवस्था र बजारको मागलाई ध्यानमा राखेर कार्यक्रम कार्यान्वयन गरिनेछ।’

कार्यत्रमअन्तर्गत मसला तथा औषधिजन्य बाली, बेसार, अदुवा, तरकारी र फलफूलजस्ता बहुमूल्य कृषि वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइनेछ। स्थानीय तहका कृषि तथ्यांक, सरोकारवाला निकायसागको छलफल र क्षेत्रगत सम्भावनाको विश्लेषणका आधारमा लक्षित क्षेत्र छनोट गरिएको पनेरुले बताए।

कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानले उत्पादन गरेका वस्तु देश तथा विदेशसम्म पुर्‍याउने लक्ष्य कार्यक्रमले लिएको छ। बहुमूल्य कृषि उत्पादनका कारण बजार सुनिश्चित हुने सम्भावना उच्च रहेको र यसले किसानको आयस्तर वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रमले बाँझो जमिनको उपयोग, वन्यजन्तुको आतंक न्यूनीकरण, किसानको क्षमता अभिवृद्धि तथा कृषिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसमेत राखेको छ। यद्यपि, जंगली जनावरको समस्या, बजारीकरणको चुनौती र विपद्जस्ता अवरोधहरू रहे पनि कार्यक्रममार्फत सुधारको सम्भावना रहेको पनेरुको भनाइ छ।

यसका साथै, प्रांगारिक उत्पादन प्रवर्द्धन गर्दै विषादीको प्रयोग घटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ। यो क्षेत्रको हावापानी, माटो र वातावरणीय अवस्थाले उच्च मूल्यका बाली उत्पादनका लागि अनुकूल रहेको विश्लेषणले देखाएको र यसबाट किसानले राम्रो मूल्य पाउने सम्भावना रहेको कार्यालयले जनाएको छ।

तर्कराज

Link copied successfully