अपिहिमाल गाउँपालिका र काठमाडौंस्थित ‘एक एक एक पाइला’को संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय ९२ जनालाई विभिन्न प्रकार स्वास्थ्य सेवा दिइएको हो ।
What you should know
दार्चुला — जिल्लाकै दुर्गम अपिहिमाल गाउँपालिकाका संचालन गरिएको निःशुल्क शिविरमा १ हजार ६ सय जनाले सेवा लिएका छन् ।
अपिहिमाल गाउँपालिका र काठमाडौंस्थित ‘एक एक एक पाइला’को संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय ९२ जनालाई विभिन्न प्रकार स्वास्थ्य सेवा दिइएको हो ।
अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा तीन दिन सञ्चालन भएको शिविरबाट विशेषज्ञसहितका स्वास्थ्य सेवा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराले बताए । गाउँपालिका र काठमाडौंस्थित ‘एक एक पाइला’ संस्थाको संयुक्त आयोजनामा घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
उक्त शिविरमा ४ सय ५७ पुरुष र १ हजार १ सय ३५ महिलाले स्वास्थ्य सेवा लिएका थिए । शिविर अवधिभर ३ हजार १९ पटक विभिन्न स्वास्थ्य परामर्श तथा सेवा प्रदान गरिएको थियो । जनरल मेडिसिनमा ४ सय ३३, आँखा रोगमा ४ सय ७८, हाडजोर्नीमा ३ सय ११ तथा दातसम्बन्धी समस्यामा ३ सय २४ जनाले सेवा लिएका छन् । त्यसैगरी, नाक–कान–घाँटीको ३ सय १३, स्त्री तथा प्रसूति सेवामा २ सय ९९ र बालरोग विभागमा १ सय २८ जनाको उपचार गरिएको छ ।
शिविरमा २९ वटा सफल शल्यक्रिया सम्पन्न भएका छन् । जसमा १९ वटा आँखासम्बन्धी र १० वटा नाक, कान तथा घाटीसम्बन्धी शल्यक्रिया रहेका छन् । उक्त शिविरमा ४ सय ९१ जनाको प्रयोगशाला परीक्षण तथा २ सय १४ जनाको भिडियो एक्स–रे सेवा प्रदान गरिएको अध्यक्ष ठेकरे बोहराले जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष देवकी बोहराले धनगढी, काठमाडौं पुगेर गरिने उपचार सेवा गाउँमै शिविरमा उपलब्ध हुँदा टाढा गएर उपचार गराउन नसकेकालाई फाइदा पुगेको बताइन् ।
