‘भागबण्डा’ विवादले सुदूरपश्चिम सरकारमा ‘खटपट’

सरकारले नियुक्त गरेका अस्पताल ब्यवस्थापन समितिमा भागबण्डा नमिलेर मन्त्रिपरिषद् बैठक बहिस्कार गरेको एमाले सांसदहरुले बताएका छन् ।

चैत्र १६, २०८२

अर्जुन शाह

'Bhagbanda' controversy causes 'trouble' in Sudurpaschim government

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा नेतृत्वकर्ता दल कांग्रेस र साझेदार एमालेबीच अस्पताल व्यवस्थापन समितिहरुमा भागबण्डा र नियुक्तिलाई लिएर असन्तुष्टि बढेको छ । त्यहीँ सन्दर्भलाई लिएर बिहीबार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका थिए ।  

भागबण्डा र नियुक्तिलाई लिएर सत्ता साझेदार दलका मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए पनि मुख्यमन्त्रीसहित कांग्रेसका मन्त्रीहरुले केही नियुक्तिका निर्णय गरेका थिए । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट एक राज्यमन्त्रीसहित चार जना मन्त्री छन् । सरकारले नियुक्त गरेका अस्पताल ब्यवस्थापन समितिमा भागबण्डा नमिलेर मन्त्रिपरिषद् बैठक बहिस्कार गरेको एमाले सांसदहरुले बताएका छन् ।

एमाले मन्त्रीहरुले बहिस्कार गरेको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समिति अध्यक्षमा टीकापुर–१ का रामबहादुर भण्डारी, दार्चुला अस्पतालको अध्यक्षमा महाकाली नगरपालिका–५ का तोरणप्रसाद अवस्थी, बैतडी अस्पतालमा दशरथचन्द नगरपालिका–३ का धनबहादुर क्षेत्री, बाजुरा अस्पतालको अध्यक्षमा खप्तडछेडेदह ५ का धनबहादुर रावतलाई नियुक्त गरेका थिए ।

बझाङ अस्पतालमा जयपृथ्वी नगरपालिका–३ का बीरेन्द्रबहादुर खड्का नियुक्त भए । खड्काबाहेक सबै जिल्लामा नियुक्त अध्यक्षहरु कांग्रेस कार्यकर्ता हुन् । खड्का एमाले कार्यकर्ता हुन् ।

यसअघि कांग्रेसले सेती प्रादेशिक, लम्की र डडेल्धुराको जोगबुडा अस्पतालको अध्यक्षमा पनि आफ्नै कार्यकर्तालाई नियुक्त गरिसकेको छ । महाकाली प्रादेशिक अस्पतालको अध्यक्ष भने एमालेले आफ्नो भागमा लिएको छ । त्यहाँ एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलनिकट महेशप्रसाद पन्तलाई उक्त अस्पताल व्यवस्थापन समिति अध्यक्षमा नियुक्त गरिएको छ । 

भागबण्डाका क्रममा अन्तरकलह उत्पन्न भएपछि एमालेले सर्वसम्मत रुपमा नाम दिन नसकेको कांग्रेस सांसदहरुले बताएका छन् । ‘एमालेको भाग परेका जिल्ला जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्षका लागि एमालेबाट अलगअलग ब्यक्तिको लागि लविङकै कारण अस्पताल अध्यक्ष नियुक्त हुन नसकेको हो,’ सामाजिक विकास मन्त्री मेघराज खड्काले भने, ‘अछाम अस्पतालका लागि पनि खिचातानी चलिरहेको जस्तो छ ।’ खड्का कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री हुन् । 

भागबण्डाकै सन्दर्भलाई लिएर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलप्रति एमाले कार्यकर्ताहरु आक्रोशित छन् । दुई साताअघि एमाले निकट युवाहरुले प्रदेशसभा संसदीय दलको कार्यालयमा तालाबन्दी गरेका थिए । साथै, एमाले प्रदेश कमिटिले केन्द्रलाई पत्राचार गर्दै संसदीय दलको नेता सम्पर्कमा ल्याइदिन वा दलमा अर्को नेता चयन गरिदिन आग्रह गरेको थियो ।

११ जना सांसद रहेको एमालेमा अधिकांश सांसदहरु संसदीय दलका नेताले गर्ने हरेक निर्णयबाट बेखबर भएको बताउँछन् । ‘राजनीतिक दलभित्र अराजनीतिक मान्छेहरुको बोलबाला बढेपछि अलोकप्रिताको कारण खोज्न अन्यत्र जानै पर्दैन,’ एमाले सांसद धर्मराज पाठकले आफ्नै दल र सरकारका क्रियाकलापहरुप्रति सांकेतिक विरोध गर्दै भने । सामाजिक विकास मन्त्री खड्काले सत्ता साझेदार दलहरुबीच कुनै खटपट नरहेको दाबी गरेका छन् । 

एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्री बीरबहादुर थापाले सत्ता साझेदार एमाले र कांग्रेसबीच गहिरो खटपट नभएको दाबी गरे । उनले अस्पताल व्यवस्थापन समितिमा नियुक्तिलाई लिएर केही अलमल देखिएको भए पनि सम्बन्ध सुधारका पहल भइरहेको बताए । ‘एमालेमा संसदीय दलको बैठक बस्न नसकेको र सबै जानकारीहरु प्राप्त नहुने भएकाले पनि अलमल भएको देखिएको हो,’ मन्त्री थापाले भने, ‘बिहीबारको बैठकमा नियुक्तिलाई लिएर अन्योलता हुने देखिएपछि हामी नगएका हौं ।’ 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully