सुदूरपश्चिममा ठेक्का म्याद सकिएका ७० आयोजना अलपत्र

सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका पूर्वाधार विकास कार्यालयहरुले ठेक्का लगाएका १६ पुल र ५४ सडक योजनाको म्याद सकिएर पनि वर्षौंदेखि निर्माण सम्पन्न हुन सकेको छैन ।

चैत्र १०, २०८२

अर्जुन शाह

70 projects with expired contracts in Far West remain abandoned

What you should know

धनगढी — सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधारतर्फका ७० वटा आयोजना ठेक्काको म्याद सकिएको लामो समयसम्म पनि सम्पन्न हुन सकेका छैनन् ।  

कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला चौराहा र वडा २ पुरानो बजार जोड्ने पुल निर्माणको सम्झौता भएको ६ वर्ष बित्यो । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कैलालीले तीन वर्ष अवधि राखेर ०७७ असारमा ७ करोड २३ लाख ८० हजार ८४२ रुपैयाँमा वाइपी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म निर्माण सम्पन्न नगरेर काम अलपत्र पारेको उक्त आयोजना निर्धारित समयावधिमा काम सम्पन्न नभएर अलपत्र पारिएको एउटा उदाहरण हो । 

उक्त निर्माण कम्पनीले हालसम्म पुलको दुबैतिरको स्पान निर्माण गरिए पनि स्ल्याब निर्माण गर्नै बाँकी छ। वडा १ का बासिन्दाले वडा २ मा विद्याललय र स्वास्थ्य चौकी जानुपर्छ । वडा २ का बासिन्दाले वडा १ मा भएको गौरीगंगा नगरपालिकाको कार्यालय, क्याम्पस, बजार आवतजावत गर्नुपर्छ । पुल नबन्दा दुबैतिरका नगरबासीले सास्ती बेहोर्नु परेको स्थानीय बासिन्दाले वर्षौदेखि गुनासो गर्दै आएका भए पनि सुनुवाई भएको छैन । पुल नभएकै कारण बर्षाको बेला करिब तीन  किलोमिटर घुम्ती पार गरेर आवतजावत गर्नुपर्ने बाध्यता छ।

पूर्वाधार विकास कार्यालय अछामले ठेक्का सम्झौता गरेको बाजुराको ४० किलोमिटरको मार्तडी–कोल्टी सडक स्तरोन्नतिका लागि ०७६/०७७ असारमै बहुवर्षीय ठेक्का लगाएको थियो । उक्त सडकलाई विभिन्न तीन खण्डमा ठेक्का लगाइएकोमा हालसम्म पनि उक्त आयोजना सम्पन्न हुन सकेको छैन । सोही सडक खण्डमा ठेक्का लगाइएका दुई वटा पुल समेत निर्माण भएका छैनन् ।

मार्तडीनजिक चुथीदेखि ३१ किलोमिटर सडक बनाउन पिएस बानियाँ जेभीसँग ५० करोड १६ लाख ९५ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पूर्वाधार विकास कार्यालय अछामका अनुसार चालु आर्थिक वर्षमा पनि उक्त सडक आयोजनामा २० करोड बजेट विनियोजन गरिएको छ । तर यस वर्ष कम्पनीले केही कामै गरेको छैन । 

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरुले ०७६ देखि बहुवर्षीय ठेक्का लगाएका १६ पुल र ५४ वटा सडकका आयोजना म्याद सकिएको लामो समयसम्म पनि सम्पन्न भएका छैनन् । ११ अर्ब ७५ करोड ३० लाख ३३ हजारमा ठेक्का सम्झौता गरिएका ती आयोजनामा ९ अर्ब ९६ करोड ९ लाख २ हजार रुपैयाँ खर्च भइसकेको छ । 

चालु आर्थिक वर्ष ०८२/८३ मा ती आयोजनाहरुको लागि ६२ करोड २५ लाख विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । तर काम सम्पन्न गर्न चालु आर्थिक वर्षमा करिब १ अर्ब १६ करोड ९६ लाख ६३ आवश्यक रहेको मन्त्रालयको भनाई छ । ‘ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई तोकिएकै समयमा काम सम्पन्न गर्न तोकेता गरिरहेका छौं,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता सुविक श्रेष्ठले भने, ‘बजेट अपुग हुन नदिन रकमान्तर गरेर भए पनि व्यवस्था गर्छौं ।’

ती आयोजनाको लागत १६ अर्ब २० करोड ३० लाख २७ हजार रहने अनुमानमा कार्यालयहरुले ठेक्का आव्हान गरेका थिए । तर निर्माण कम्पनीहरुले ४ अर्ब ४४ करोड ९९ लाख ९४ हजार घटेर ११ अर्ब ७५ करोड ३० लाख ३३ हजारमा ठेक्का सम्झौता गरेका थिए । घटेर ठेक्का सम्झौता गर्ने अनि निर्धारित म्यादभित्र कार्य सम्पन्न नगर्ने प्रवृति रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । यही कारण सुदूरपश्चिममा म्याद सकिएका बहुवर्षीय ठेक्काहरुको संख्या बढ्दै गएको छ । 

पुराना बहुवर्षीय ठेक्काहरु सम्पन्न नहुँदा प्रदेश सरकारले पुरानै योजनामा पटक–पटक बजेट विनियोजन गरिरहनुपर्ने तर बजेट खर्च नहुने समस्या बढेको छ । यसले प्रदेश सरकारले ठूला तथा नयाँ आयोजना लागु गर्न सकेको छैन। 

ठेकेदार कम्पनीहरुले सम्झौता अवधिभित्र काम सम्पन्न नगरेको सम्बन्धित कार्यालयहरुले दाबी गर्दै आए पनि  बेलामा काम नगर्ने कम्पनीलाई न काम पूरा गराउन सकेको छ, न कार्वाही नै । सम्बन्धित कार्यालयहरु भने काम पूरा नगर्ने कम्पनीहरुलाई पत्राचारको औपचारिकतामै सीमित छन् । 

पूर्वाधार विकास कार्यालय अछाम मातहत अछाम र बाजुरा जिल्लामा १३ सडक र ६ वटा सडक पुलका योजना छन् । तीमध्ये दुई वटा प्रदेश गौरबका योजना हुन् । हालसम्म तीमध्ये १४ वटा ठेक्काको पटकपटक म्याद थप गर्दा पनि ठेक्का सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । ‘एकातिर सम्बन्धित योजना निर्माणका लागि कार्यालयमा बजेट थन्किएर बसेको हुन्छ, अर्कोतिर फिल्डमा निर्माण कम्पनीले काम गरिरहेका छैनन्,’ पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापा भन्छन्, ‘पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत बाजुरा र अछाममा सडक निर्माणका १३ वटा ठेक्का छन् । ती सडक निर्माणको सम्झौता गरेका निर्माण कम्पनी कसैले पनि तोकिएको समयावधिभित्र काम सम्पन्न गर्न सकेका छैनन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully