रानाथारु समुदायले मनाए चैतकी चराइँ पर्व

समाजमा रोग व्याधि, महामारी तथा भूतप्रेतको प्रभाव न्यूनीकरण गर्ने विश्वासका साथ सातबहिनी भगवतीको पूजा अर्चना गर्दै यो पर्व धूमधामका साथ मनाउने गरिन्छ ।

चैत्र ९, २०८२

हरिश्चन्द्र बाग

Ranatharu community celebrates Chaitra grazing festival

What you should know

कञ्चनपुर — सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले सोमबार परम्परागत रूपमा चैतकी चराइँ पर्व मनाएका छन् ।

समाजमा रोग व्याधि, महामारी तथा भूतप्रेतको प्रभाव न्यूनीकरण गर्ने विश्वासका साथ सातबहिनी भगवतीको पूजा अर्चना गर्दै यो पर्व धूमधामका साथ मनाउने गरिन्छ ।

रानाथारु समुदायमा चराइँ पर्व तीन समयमा बनाउने गरिन्छ । चैतकी चराइँ, वैशाखकी चराइँ र जेठमा मनाइने भजनी चराइँ । चैतकी चराइँ भने हरेक वर्ष चैत्र शुक्ल पक्षको पहिलो सोमबार वा बिहीबारमध्ये जुन बार पहिले पर्छ, सोही दिन मनाउने चलन रहेको नेपाल रानाथारु समाज कञ्चनपुरका उपाध्यक्ष मनोहर रानाले जानकारी दिए ।

पर्वका अवसरमा महिलाहरू निराहार व्रत बसेर गाउँको भुइँया मन्दिर वा बगैँचामा भेला हुन्छन् । त्यस क्रममा झाँक्री वा गुरुवाले मध्यान्हदेखि अपराह्नसम्म सातबहिनी भगवतीको विधिपूर्वक पूजा र हवन गर्छन् । पूजापछि प्रसाद ग्रहण गरेसँगै महिलाहरू वनभोज जस्तै गरी विभिन्न पकवान बाँडेर खाने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन छ । व्रतालु महिलाले यस अवसरमा ‘भगीरथ लीला’ समेत गाउने गर्छन् ।

पूजापाठ र सांस्कृतिक कार्यक्रमपछि घर फर्किनुअघि पधना वा भलमन्साको हातबाट पानी छर्किने परम्परा पनि रहेको छ । यसलाई शुद्धीकरण र मंगलकामनासँग जोडेर हेर्ने गरिन्छ । रानाथारु समुदायको बाहुल्यता रहेका कञ्चनपुर र कैलालीका स्थानीय तहहरूको सहयोगमा सामूहिक सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्व मनाउने अभ्यास पनि बढ्दो छ ।

यस्ता कार्यक्रमहरूमा पछिल्लो समय सामाजिक जनचेतनाका विषयहरू समेत समेटेर नाचगान प्रस्तुत गर्न थालिएको छ, जसले संस्कृति संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ ।

हरिश्चन्द्र

Link copied successfully