जिल्ला स्वास्थ्य कार्यालय डोटीको समन्वय तथा स्थानीय तहको आयोजनामा जिल्लाका १५ वटा स्वास्थ्य चौकीमा एआईमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन भइरहेको हो ।
What you should know
डोटी — डोटीमा क्षयरोगी पहिचानका लागि आधुनिक प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको समन्वय तथा स्थानीय तहको आयोजनामा जिल्लाका १५ वटा स्वास्थ्य चौकीमा एआईमार्फत क्षयरोगी खोज्ने अभियान सञ्चालन भइरहेको हो ।
अभियान अन्तर्गत स्वास्थ्यकर्मीको टोली एआई उपकरणसहित गाउँ–गाउँका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गरिरहेको क्याम्प संयोजक सुशीलराज जोशीले जानकारी दिए । 'एआई भनेको डिजिटल कम्प्युटर प्रणाली हो, जसले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोग पहिचान गर्छ । यसले परम्परागत रूपमा खकार परीक्षण गर्नुअघि नै जोखिम भएका बिरामी छुट्याउन सहयोग गर्छ,' उनले भने ।
उनले सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनालयमै सीमित रहेको र डोटीमा पहिलोपटक प्रयोग गरिएको बताए । 'एआईबाट सम्भावित बिरामी पहिचान भएपछि दोस्रो चरणमा खकार परीक्षण गरी पुष्टि गरिन्छ, र पुष्टि भएका बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराइन्छ,' उनले भने ।
क्षयरोग तथा कुष्ठरोग अधिकृत सुरज खड्काका अनुसार दक्ष जनशक्तिसहितको स्वास्थ्य टोली पालिकास्तरका स्वास्थ्य चौकीमा पुगेर जाँच गरिरहेको छ । जिल्लामा चैत २ देखि १६ सम्म विशेष अभियान सञ्चालन गरिएको उनले बताए ।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोग समयमै पहिचान गरी नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुन सक्ने रोग हो । स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग नियन्त्रण र सन् २०५० सम्म उन्मूलन गर्ने लक्ष्य लिएको जानकारी दिए ।
ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोगसँगै लुकेका बिरामी पत्ता लगाउन सहज भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । एआईको प्रयोगले परीक्षणलाई छिटो, प्रभावकारी र पहुँचयोग्य बनाएको उनीहरूको विश्वास छ ।
