रोजगारी, अध्ययन र बसोबासका कारण देशका विभिन्न सहर तथा छिमेकी देश भारतसम्म पुगेका डोटीका नागरिक मतदानका लागि मात्रै गाउँ फर्किएका थिए।
What you should know
डोटी — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले केही समय डोटीका गाउँमा चहलपहल भयो । वर्षौँदेखि सुनसानजस्तै देखिँदै आएका बस्तीमा निर्वाचनका बेला चहलपहल बढ्यो ।
निर्वाचन प्रचारप्रसारदेखि मतपरिणाम आउँदासम्म बस्तीमा धेरै समयदेखि बन्द रहेका घरआँगन खुले, चोक–चौतारामा गफिनेको संख्या बाक्लियो, बजारमा भीड देखियो। तर त्यो रौनक धेरै दिन टिकेन। निर्वाचन सकिएपछि गाउँबस्तीको चहलपहल हराउन थालेकाे छ ।मतदान सकिएको केही दिनबाटै गाउँहरू फेरि पुरानै अवस्थामा फर्किन थालेका हुन्।
चुनावका लागि गाउँ फर्किएका अधिकांश मतदाता पुनः आफ्ना कार्यस्थलतर्फ लागिसकेका छन्। रोजगारी, अध्ययन र बसोबासका कारण देशका विभिन्न सहर तथा छिमेकी देश भारतसम्म पुगेका डोटीका नागरिक मतदानका लागि मात्रै गाउँ फर्किएका थिए।
चुनावकै लागि आएका शिखर नगरपालिका–५ का घनश्याम शर्मा कर्मथलो कैलाली फर्किसकेका छन् । ‘नाम यतै भएकाले भोट हाल्न त आउनै पर्यो,’ उनले भने, ‘तर रोजगारी र परिवारको कारण फेरि फर्किनुपरेको छ । हामीसँगै आएका धेरैजसो फर्किसके ।’
निर्वाचनका दिन नजिकिँदै गर्दा गाउँका चोक–चौतारामा चर्किएका राजनीतिक बहस, घरदैलोमा आएका उम्मेदवार र तिनका कार्यकर्ताले गाउँबस्तीमा निकै चहलपपहल भएको थियो । 'पुराना साथीभाईको भेट, आफन्तसँगको जमघट, लामो समयपछि खुलेका घरले गाउँमा उत्साहको झल्को दिएको थियो,' स्थानीय व्यवसायी खेम जोशीले भने, 'चुनावपछि मानिसहरू फेरि आफ्ना गन्तव्यतर्फ लागे। गाउँ सुनसान हुन थालिसके ।'
डोटीका अधिकांश ग्रामीण बस्तीमा यो दृश्य नयाँ होइन। बसाइँसराइ, वैदेशिक रोजगारी र अध्ययनका कारण युवाशक्ति गाउँबाट टाढिँदै गएको छ। चाडपर्व वा विशेष अवसरमा मात्रै गाउँमा चहलपहल बढ्ने क्रम वर्षौंदेखि दोहोरिँदै आएको जोशी बताउँछन् ।
