आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर २ हजार १ सय २८ जना सुत्केरी भए, तीमध्ये २ सय ४४ जना २० वर्षमुनिका थिए ।
What you should know
डडेल्धुरा — जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुनेको संख्यामा कमी आएको छैन । स्वास्थ्य कार्यालयका अनुसार कम उमेरमा गर्भधारण र प्रसूति हुनेको संख्या जिल्लामा उल्लेख्य छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर २ हजार १ सय २८ जना सुत्केरी भए, तीमध्ये २ सय ४४ जना २० वर्षमुनिका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा १ हजार २ सय ४६ गर्भवती हुँदा २० वर्ष पनि नपुगेका १ सय ५३ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । घरमै प्रसूति हुने दर नियन्त्रणमा आउन सकेको छैन । गत वर्ष ४७ जनाले घरमै बच्चा जन्माएका थिए । जसमध्ये एक जना २० वर्षमुनिकी थिइन् । चालु वर्षको अहिलेसम्म १३ जनाले घरमै बच्चा पैदा गरेका छन् । तीमध्ये पाँच जनाको उमेर २० वर्षमुनि रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख केशर साउदका अनुसार पछिल्ला वर्षमा जनचेतना वृद्धि हुँदै गए पनि समस्या समाधान हुन सकेको छैन । उनका अनुसार ‘भागी विवाह’ बढ्दै जाँदा कम उमेरमा गर्भधारण गर्ने बढेको पाइएको हो । ‘उमेर नपुगेकाको पाठेघर तथा अन्य प्रजनन अंग विकसित भइसकेका हुँदैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा गर्भधारण हुँदा अत्यधिक रक्तस्राव, लामो प्रसव पीडा, शिशुको मृत्यु, कम तौलको बच्चा जन्मिने तथा आमाको ज्यान जोखिममा पर्न सक्छ ।’
यस्ता समस्या न्यूनीकरण गर्न कार्यालयले विभिन्न तहसँग समन्वयमा काम गरिरहेको उनले बताए । पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग अर्धवार्षिक तथा वार्षिक समीक्षा कार्यक्रम भइरहेका छन् । पालिकाले गर्ने समीक्षामा कार्यालयको सहभागिता रहने गरेको उनले बताए । महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहलाई तालिम प्रदान गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरमा छलफललाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीले गर्भावस्थादेखि सुत्केरी हुँदासम्म नियमित स्वास्थ्य जाँच र आवश्यक स्वास्थ्य शिक्षा प्रदान गरिरहेको पनि उनले बताए । जिल्लामा बर्थिङ सेन्टरहरूमा दक्ष जनशक्ति उपलब्ध भए पनि कतिपय महिला अझै पनि सदरमुकाममै सुत्केरी हुन आउने प्रवृत्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
