डडेल्धुरामा ‘महाकाली संवाद’

महाकाली नदी संरक्षण र तटीय समुदायका मुद्दामा केन्द्रित रहेर बहस सम्पन्न भएको हो । संवादमा सहभागी नेपाल र भारतका गैरसरकारी संस्थाका प्रतिनिधिहरूले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चैत्र ४, २०८२

तर्कराज भट्ट

'Mahakali Dialogue' in Dadeldhura

What you should know

डडेल्धुरा — नेपाल र भारतबीच बग्ने महाकाली नदी आसपासका समुदायका साझा समस्या, नदी संरक्षण र भविष्यका कार्ययोजनाबारे केन्दि्रत डडेल्धुरामा ‘महाकाली संवाद’ सम्पन्न भएको छ । 

बुधबार डडेल्धुरा जिल्ला सदरमुकाममा सन् २०१७ देखि सञ्चालनमा रहेको दक्षिण एसियाली सीमा नदीहरूको सामुदायिक सदुपयोग (ट्रोसा–२) परियोजना अन्तिम चरणमा पुगेको सन्दर्भमा यसको उपलब्धि, समीक्षा तथा आगामी दिनमा निरन्तरता दिने विषयमा छलफल गर्न संवाद आयोजना गरिएको हो । 

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदका अनुसार ‘महाकाली संवाद’ नेपाल र भारतका महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदायका साझा मुद्दा उठान गर्ने साझा मञ्च हो । ‘दुवै देशका विकास साझेदार संस्था, समुदायका प्रतिनिधि र सरोकारवाला निकायलाई एकै ठाउँमा ल्याएर साझा समस्या समाधानको खोजी गर्ने उद्देश्यले संवाद आयोजना गरिएको हो,’ उनले भने । 

संवादमा नेपालतर्फ दार्चुलास्थित सामुदायिक ग्रामीण विकास समाज (सीआरडीएस), जिडिएस, अक्सफाम, डडेल्धुराको रुडुक र कञ्चनपुरको राष्टि्रय वातावरण तथा समानता विकास समाज (निड्स) लगायतका संस्थाहरूको सहभागिता रहेको थियो भने भारततर्फ देहरादुनस्थित सेडार र उत्तर प्रदेशका विभिन्न संस्था सहभागी भएका थिए । कार्यक्रममा महाकाली नदीको पानीको गुणस्तर मापन, नदी सफाइ र संरक्षणका उपायबारे मुख्य रूपमा छलफल गरिएको थियो । 

साउदका अनुसार समुदायस्तरमै समूह गठन गरी महिनामा दुई पटक पानी परीक्षण गरिँदै आएको छ । उनले महिलाहरूको सक्रिय सहभागितामा नदीको पानी परीक्षण गरी तथ्यांक संकलन गर्ने र त्यसका आधारमा संरक्षणका लागि पैरवी गर्ने काम भइरहेको बताए । 

नदीमा बढ्दो प्रदूषण रोक्न ढल तथा फोहर मिसाउन नदिन समुदायस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ । साथै पानी सुरक्षित बनाउन उमाल्ने, पियुष, वाटर गार्ड र सोडिसजस्ता विधि प्रयोग गर्न प्रेरित गरिएको साउदले बताए । 

संवादमा नदी तटीय क्षेत्रमा बर्सेनि आउने बाढीको जोखिम न्यूनीकरणका लागि नेपाल–भारतबीच पूर्वसूचना प्रणाली सुदृढ बनाउने विषयमा पनि जोड दिइएको थियो । सीमा क्षेत्रमा रहेका सुरक्षा निकाय, प्रशासन र समुदायबीच सूचना आदानप्रदान गर्ने संयन्त्र विकास भइसकेको र त्यसलाई थप प्रभावकारी बनाउनेबारे छलफल भएको जनाइएको छ । 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले नेपाल–भारतबीचको सम्बन्ध सधैं सुमधुर रहनुपर्नेमा जोड दिए । उनले नेपाल र सीमावर्ती भारतीय समुदायबीच रीतिरिवाज, चालचलन, धर्म र संस्कृतिमा धेरै समानता रहेको उल्लेख गर्दै यस्ता संवादले दुवै देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रमले जीविकोपार्जनसँग जोडिएका पहलहरूलाई पनि प्राथमिकता दिएको छ । नदी किनारमा पानी बगिरहे पनि माथिल्लो भूभागमा खेत बाँझो रहने समस्या समाधान गर्न लिफ्टिङ प्रविधिमार्फत सिँचाइ तथा खानेपानीको पहुँच विस्तार गरिएको छ । यसले स्थानीय कृषकको उत्पादन वृद्धि र आय आर्जनमा सहयोग पुगेको बताइएको छ । 

भारतको धार्चुला ग्राम पञ्चायतकी प्रधानपञ्च कमलादेवीले धार्चुलामा सन् २०२४ देखि परियोजना लागू भएपछि समुदायस्तरमा चेतना वृद्धि भएको बताइन् । उनका अनुसार महाकाली नदीको पानीको सदुपयोगका लागि २७ वटा महिला सशक्तिकरण समूह सक्रिय छन् । 

यता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले गैरसरकारी संस्थाहरूले स्थानीय तहले गर्नुपर्ने काममा समेत सहयोग पुर्‍याएको भन्दै धन्यवाद व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा स्वच्छ पानी पिउने बानी बसाल्न र सरसफाइमा चेतना फैलाउन यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । 

डडेल्धुराको परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले सीमित बजेटका कारण कृषि क्षेत्रमा अपेक्षित लगानी गर्न नसकिएको बताए । उनले नदी किनारमै पानी बगिरहे पनि सिँचाइ अभावमा खेत बाँझो रहने समस्या समाधान गर्न थप पहल आवश्यक रहेको उल्लेख गरे । साथै, महाकाली नदीमा दाहसंस्कारजस्ता गतिविधिलाई व्यवस्थित गर्न सके पानीको शुद्धता कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । 

रुडुकका राष्टि्रय निर्देशक डा. कृष्णकुमार श्रेष्ठका अनुसार ट्रोसा–२ परियोजना सन् २०२६ मा समाप्त हुने चरणमा पुगेकाले यसको उपलब्धिलाई निरन्तरता दिन समुदायमै आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । हाल १८ स्थानमा नियमित रूपमा पानीको गुणस्तर परीक्षण भइरहेको उनले जानकारी दिए । 

संवादमा सहभागी नेपाल र भारतका गैरसरकारी संस्थाका प्रतिनिधिहरूले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । महाकाली नदीको संरक्षण, स्वच्छता र तटीय समुदायको जीवनस्तर सुधारका लागि दुवै देशबीच सहकार्य सुदृढ बनाउने निष्कर्ष ‘महाकाली संवाद’ले निकालेको छ । 

तर्कराज

Link copied successfully