महाकाली नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

सोमबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ पन्तोलीका अन्दाजी १५ वर्षीय धिरज धामी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चैत्र २, २०८२

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–५ स्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा बगेर एक बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ पन्तोलीका अन्दाजी १५ वर्षीय धिरज धामी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा कोठा गरी बस्ने धिरज पौडी खेल्ने क्रममा सदरमुकामस्थित महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रबाट बेपत्ता भएका हुन् । 

साथीहरुसँग पौडी खेल्न गएका धिरज नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका उनका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ता धिरजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा ९ मा अध्ययनरत रहेका छन् । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully