भारततर्फ जाँदै गरेका नेपाली कामदारको गुनासो– ‘अब भोटका लागि मात्रै स्वदेश फर्किन नपरोस्, यहीं रोजगारीको पनि व्यवस्था होस् ।’
What you should know
कञ्चनपुर — जिल्लाको बेलौरी नगरपालिका–९ का नारददत्त भट्ट भारतको दिल्लीमा काम गर्छन् । उनले त्यहाँ काम गर्न थालेको १२ वर्ष भयो । ६ महिना वा वर्षदिनमा उनी घर आउजाउ गरिरहन्छन् । यसपटक पनि उनी फाुगन १८ मा घर आएका थिए । मतदानका लागि घर आएका उनी शनिबार गड्डाचौकी नाका हुँदै पुनः काममा फर्किए ।
‘मतदानका लागि आएको थिएँ, भोट हाल्यौं, जित्नेले जिती पनि हाले, अब काममा फर्किन लाग्यौं,’ उनले भने, ‘हाम्रो काम भोट हाल्ने हो, हाल्यौं, अब जित्नेले केही गर्छन् कि भन्ने आस छ, हेरौं ।’
परिवारका तीन सदस्यसहित भट्ट दिल्ली जान लागेका हुन् । उनका दाइभाइ सबै त्यहीं काम गर्छन् । उनीहरू सबै मतदानकै लागि घर आएका हुन् । मतदानसँगै घर–परिवारसँग पनि भेटघाट गरेर फर्किन लागेको उनीहरूले बताए ।
‘गाउँघरमै आफ्नै ठाउँमा रोजगारी पाइने भए किन विदेशिन्थ्यौं र ?’ भट्टले भने, ‘चुनावका बेला नेताहरू विभिन्न आश्वासन दिन्छन्, त्यसपछि बिर्सिन्छन्, हामीले हातमुख जोर्न विदेशिनु नै छ ।’ उनले यस पटक चुनावी नतिजा परिवर्तन भएका कारण देशमा विकास हुने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरेका छन् । त्यही आसले उनी मतदानका लागि खर्च गरेर भए पनि घर फर्किएको बताए ।
कैलालीको टीकापुरका टेकेन्द्र माझी पनि मतदान गरेर शनिबार भारत फर्किए । उत्तराखण्डको हरिद्वारमा ज्याला मजदुरीको काम गर्ने उनी मतदानकै लागि घर आएका थिए । ‘नयाँ वर्षका लागि घर आउने गर्थ्यौं, तर यो पाला चुनावले अगाडि नै आयौं,’ माझीले भने, ‘भोट दियौं, अब काममा फर्कियौं ।’
माझी १० वर्षदेखि हरिद्वारमा काम गरिरहेका छन् । भारी बोक्ने तथा ज्याला मजदुरीको काम गर्ने उनलाई पनि अर्काकै देशमा बस्न मन छैन । ज्याला मजदुरीको काम पनि गाउँमै नपाइने भएकाले विदेशिनु परेको उनले बताए ।
‘परिवर्तन, परिवर्तन भने, अब नेता मात्रै परिवर्तन हुन्छन् कि हाम्रा लागि पनि केही परिवर्तन हुन्छ, हेरौं,’ माझीले भने, ‘देशमा विकास, सुशासन र रोजगारी सिर्जना भएमा गाउँघरमै परिवारसँगै बसेर काम गर्न पाइने अपेक्षा छ ।’ यही आसा बोकेर आफू मतदानका लागि घर आएको उनले बताए ।
मतदानका लागि भारतबाट घर आएका धेरै नेपाली कामदार अहिले काममा फर्किरहेका छन् भने कतिपय फर्किने क्रममा छन् । कतिपय भने अब नयाँ वर्ष मनाउनुका साथै गहुँवाली भित्र्याएर काममा फर्किने सोच बनाएको भेटिन्छन् ।
अहिले गड्डाचौकी नाकाबाट दैनिक दुई/अढाइ सय नेपाली कामका सिलसिलामा भारत फर्किरहेका छन् । उनीहरू भारतको उत्तराखण्ड र हिमाचलका पहाडी र हिमाली भेगमा र केही दिल्ली, मुम्बई र बेंग्लोर लगायत ठूला सहरमा जाने गरेका छन् ।
उत्तराखण्ड र हिमाचल जाने अधिकांश नेपाली भारी बोक्ने, कृषि र विकास निर्माणका काममा ज्याला मजदुरी गर्ने गर्छन् । अन्य क्षेत्रमा जानेहरू भने विभिन्न कम्पनीमा चौकीदारीलगायतको काम गर्छन् ।
‘देशमा धेरै परिवर्तन भयो, गाउँघरमै रोजगारी पाइन्छ कि भन्ने आसा पनि गर्यौं,’ कैलालीको धनगढीका नरेश चौधरीले भने, ‘तर अहिलेसम्म आसमै छौं, अब पनि केही भर छैन ।’ उनी पाँच वर्षदेखि हिमाचलमा काम गर्दै आएका छन् ।
भारतमा रोजगारीका क्रममा हुने दुखसँगै हेपिनुपर्ने लगायतका समस्याले उनलाई निकै पीडा हुन्छ । केही समस्या परे पनि भनेकै समयमा घर फर्किन पनि सकिँदैन । काम गरेको ज्याला पनि पूरा नपाउने तथा निकै कम ज्याला पाउने समस्या रहेको उनले सुनाए । ‘पाएको ज्याला पनि घरमा पठाउन अर्को समस्या हुने गरेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाउन सके यस्ता समस्याबाट छुटकारा पाइने थियो ।’
कञ्चनपुरको गड्डाचौकी नाका हुँदै कामका लागि भारत जान लागेका नेपाली । तस्बिर ः भवानी भनट्ट/कान्तिपुर
