निर्वाचन आचारसंहिताका कारण रोकिएको फूलौटी होली आज मनाइयो

१८ फागुनमा नै होली पर्व परे पनि निर्वाचन आचारसंहिताका कारण उक्त दिन कार्यक्रम गर्न नसकिएको र शुक्रबार मनाइएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

फाल्गुन २९, २०८२

मोहन पनेरु

Phulauti Holi, which was stopped due to the election code of conduct, was celebrated today

डोटी — निर्वाचन आचारसंहिताका कारण रोकिएको फूलौटी होली आज मनाइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा शुक्रबार उत्साहका साथ फूलौटी होली मनाइएको हो ।

१८ फागुनमा नै होली पर्व परे पनि निर्वाचन आचारसंहिताका कारण उक्त दिन कार्यक्रम गर्न नसकिएको र शुक्रबार मनाइएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।

होली पर्व हिन्दू धर्मावलम्बीहरूले असत्यमाथि सत्यको विजय तथा आपसी सद्भाव र भाइचाराको प्रतीकका रूपमा मनाउने गरिन्छ छ । धार्मिक मान्यताअनुसार भक्त प्रह्लादलाई जलाउन खोज्दा होलिका दहन भएको घटनाको सम्झनामा यो पर्व मनाउने गरेको विश्वास छ । यही सन्देशका साथ नेपालका विभिन्न स्थानमा होली रंग र अबिर खेलेर मनाइने गरिन्छ भने सुदूरपश्चिमका केही जिल्लामा भने परम्परागत शैलीमा फूलौटी होली मनाउने चलन छ।

डोटीको पूर्वीचौकी क्षेत्रमा सदियौं देखि चल्दै आएको यो परम्परामा स्थानीयवासीहरू सेतो पोशाकमा सजिएर देउडा भाकाको लयमा सामूहिक नाचगान गर्दै फूलौटी होली मनाउँछन् ।

गाउँका चोक तथा सार्वजनिक स्थलहरूमा भेला भएका स्थानीयले गीत, नृत्य र परम्परागत शैलीमा शुभकामना आदान–प्रदान गर्दै पर्वको उल्लास साटासाट गर्ने गर्छन् । कार्यक्रममा ज्येष्ठ नागरिकदेखि युवायुवतीसम्मको उल्लेखनीय सहभागिता हुने गर्छ ।

स्थानीयका अनुसार फूलौटी होली मनाउँदा परम्परागत पोशाक, देउडा भाका र सामूहिक नृत्यमार्फत आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक पहिचानलाई झल्काउने गरिन्छ ।

मोहन

Link copied successfully