भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

डडेलधुरामा अवैध भरुवा बन्दुकसँग फोटो खिच्न खोज्दा पड्किएर १७ वर्षीय किशोरको घटनास्थलमै ज्यान गएको छ।

फाल्गुन २७, २०८२

तर्कराज भट्ट

Teenager dies after shotgun explodes

डडेल्धुरा — डडेलधुराको परशुराम नगरपालिका–२ बसौटीमा अवैध भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका १७ वर्षीय सुवास महराको मंगलबार साँझ बन्दुक पड्किँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार महरा आफ्नी दिदी जानकी बोहराको घर बसौटीमा आएका बेला घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किएको थियो। बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढास्थित जोगबुढा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको जनाइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का १७ वर्षीय अर्का किशोरलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट प्रयोग भएको भरुवा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर्कराज

Link copied successfully