रास्वपाका सभापति रवि लामिछानेसँगै टेलिभिजन पत्रकारिता पनि गरेका थिए उनी त्यही पत्रकारिताको पृष्ठभूमिबाट उनी राजनीतिमा आएका हुन् । स्थापनादेखि नै रास्वपाको राजनीतिमा लागेका उनी प्रदेश इन्चार्जसमेत भएका थिए । अहिले उनी पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागका सचिवसमेत हुन् ।
कञ्चनपुर — कांग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्व गृहमन्त्री रमेश लेखक कञ्चनपुर-३ बाट निर्वाचन लड्दै आएका थिए । यस पटक पनि कांग्रेसबाट अन्तिम अवस्थासम्म लेखक नै उम्मेदवार हुने अपेक्षा थियो । पार्टीभित्रको आन्तरिक समस्याका कारण उनले टिकट पाएनन् । कांग्रेसले पहिलो पटक यस क्षेत्रमा नयाँ अनुहारको रूपमा हरि बोहरालाई उम्मेदवार बनायो ।
पटक पटक सांसद र मन्त्री भइसकेका लेखकको क्षेत्रमा कांग्रेसलाई पराजित गर्नु त्यति सजिलो थिएन । अझ कांग्रेसको बलियो पकड मानिएको दोधारा चाँदनी क्षेत्रबाट चुनाव जित्नु झनै गाह्रो अवस्था । यी सबै असहजतालाई पन्छाउँदै पूर्व पत्रकारसमेत रहेको रास्वपाका ज्ञानेन्द्रसिंह महता कञ्चनपुर-३ बाट निर्वाचित भएका छन् ।
एक दशक भन्दा बढी समय पत्रकारिता गरेका महता एफएम रेडियो सञ्चालक समेत हुन् । यसका साथै उनले रास्वपाका सभापति रवि लामिछानेसँगै टेलिभिजन पत्रकारिता पनि गरेका थिए । त्यही पत्रकारिताको पृष्ठभूमिबाट उनी राजनीतिमा आएका हुन् ।
स्थापनादेखि नै रास्वपाको राजनीतिमा लागेका उनी प्रदेश इन्चार्जसमेत भएका थिए । अहिले उनी पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना विभागका सचिवसमेत हुन् ।
‘यस क्षेत्रको समग्र विकासका लागि संसद्मा आवाज उठाउनेछु,’ महताले भने, ‘जनतासँग सांसद र जनगुनासो सुनवाइका लागि निर्वाचन क्षेत्रमै सचिवालय पनि राखिनेछ ।’ उनले मुलुकको परिवर्तनका लागि जनताले रास्वपालाई जिम्मेवारी दिएको र यसका लागि योजनाबद्ध ढंगले काम गर्ने बताए ।
ब्रोडकास्टिङ एसोसिएसन आफ नेपाल (बान) का सुदूरपश्चिम संयोजक समेत भएर काम गरेका महता कृषिमा पनि संलग्न छन् ।
२०४२ मा बैतडीको शिवनाथ गाविसमा जन्मिएका उनले व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । शिवनाथमै एसएलसीसम्म अध्ययन गरेका उनी उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर बसाई सरको थिए । अहिले उनको बसोबास भीमदत्त नगरपालिका १८ जानकी टोलमा रहेको छ ।
महताका बुबा धनबहादुर शिवनाथ गाउँपालिका-४ का वडाध्यक्ष हुन् । उनी एमालेबाट निर्वाचित भएका हुन् ।
