रङसँगै संस्कृति बोकेको ‘रुपाली’ होली

पुरानो बस्ती मानिने रुपालमा खेलिने होली सुदूरपश्चिम पहाडमा सबैभन्दा लामो समय पाँच दिन निरन्तर रूपमा मनाइन्छ।

फाल्गुन १९, २०८२

तर्कराज भट्ट

'Rupali' Holi carries culture along with colors

डडेल्धुरा — भागेश्वर गाउँपालिकाअन्तर्गत रुपाल क्षेत्रमा परम्परागत रूपमा मनाइने ‘रुपाली’होली पर्व रङ खेल्ने उत्सव मात्र नभई यहाँको ऐतिहासिक पहिचान, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतीक बनेको छ।

यहाँको पुरानो बस्ती मानिने रुपालमा खेलिने होली सुदूरपश्चिम पहाडमा सबैभन्दा लामो समय पाँच दिन निरन्तर रूपमा मनाइन्छ। एकादशीदेखि पूर्णिमासम्म चल्ने रुपाली  होलीको शैली मथुरा–वृन्दावन तथा कुमाउा–गढवाल क्षेत्रसँग मिल्दोजुल्दो छ।

यहाँ होलीलाई गौरा पर्वपछिको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। पहिलो दिन रङ छर्किने परम्पराबाट सुरु हुने होली आपसमा रङ लगाएर खुसी साटासाट गर्ने र भाइचाराको सम्बन्ध मजबुत बनाउँदै अघि बढ्छ। अन्तिम दिन होलीका दहन गरी विधिवत् रूपमा पर्व समापन गरिन्छ।

नागरिक समाज डडेल्धुराका अध्यक्ष तथा रुपालका बासिन्दा रमेशप्रसाद जोशीका अनुसार रुपाली होली विशुद्ध सांस्कृतिक र सामाजिक पर्व हो। ‘यहाँ रङको होली मात्रै हुन्छ, अशिष्टता छैन। संस्कृतिलाई जोगाउने गरी सभ्य ढंगले खेलिन्छ,’ उनी भन्छन्, ‘नयाा पुस्तामा केही परिवर्तन देखिए पनि परम्परा र मूल मर्म कायम छ।’

रुपालकै बासिन्दा कृष्ण जोशीले होली पर्वलाई पुस्तौंदेखि परम्परागत रूपमा मनाउादै आएको बताउँदै यस पर्वको सांस्कृतिक र नैतिक महत्व अझै जिवन्त रहेको बताए। उनका अनुसार रुपालको होली रङ खेल्ने पर्व नभई समाजलाई सही बाटो देखाउने सांस्कृतिक अभ्यासको निरन्तरता हो। ‘हामी यहाँ होलीलाई असत्यमाथि सत्यको विजय भएको परम्पराको रूपमा लिन्छौं,’ जोशीले भने, ‘होलीलाई हामी मनोरञ्जन मात्र नभई संस्कार र शिक्षाको रूपमा पनि लिन्छौं।’ यो पर्वले अन्याय, अहंकार र गलत प्रवृत्तिमाथि सत्य, प्रेम र सद्भावको जित भएको अवसरमा मनाइने भएकोले होलीलाई पुस्ता–पुस्तासम्म जोडेर राखेको उनले बताए ।  

जोशीका अनुसार यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होली खेल्छन्। उनी भन्छन्, ‘बालबालिकाले रमाइलो गर्दै संस्कार सिक्छन् भने वृद्धवृद्धाले अनुभव बाँड्दै परम्पराको महत्व सम्झाउँछन्।’ यसले परिवार र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने उनको भनाइ छ। उनका अनुसार रुपालको होलीे पहिचान, एकता र सामाजिक सद्भावको प्रतीक बनेर टिकिरहेको छ।

रुपालको होलीको महत्व स्थानीय स्तरमै सीमित छैन। बसाइँसराइ गरेर कैलाली, कञ्चनपुर पुगेकाहरू पनि आफ्नो सांस्कृतिक पहिचान जोगाउन होलीका बेला रुपाल फर्किने गर्छन्। कतिपयले त जहाँ बसोबास गरेका छन्, त्यहीँ रुपालकै शैलीमा होली मनाउँदै आएका छन्।

सांस्कृतिक पहिचानको संरक्षण, आपसी सहिष्णुता वृद्धि र सामाजिक एकताको सन्देश बोकेको रुपालको होली पुस्तान्तरण हुँदै आएको छ। बद्लिदो समय र जीवनशैलीका बीच पनि परम्परागत मूल्य र सामाजिक सद्भावलाई जोगाइराख्ने यो पर्वले रुपाल क्षेत्रलाई सुदूरपश्चिमकै एक महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा चिनाइरहेको छ। यहाँ एकदशीबाट सुरु भएको होली मंगलबार सकिँदैछ।

तर्कराज

Link copied successfully