डोटीमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा

निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सामग्रीसहित उनीहरूलाई सोमबारदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइएको हो ।

फाल्गुन १९, २०८२

मोहन पनेरु

डोटी — यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोटीमा तयारी पूरा भएको छ । डोटीका मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयका अनुसार सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।

निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सामग्रीसहित उनीहरूलाई सोमबारदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइएको हो ।

जिल्लामा १ निर्वाचन क्षेत्रमा १ सय ८१ वटा मतदानस्थलमा टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए । कर्मचारीहरुले सम्बन्धित केन्द्रमा पुगेर निर्वाचनका लागि आवश्यक तयारी गर्ने छन् ।

बिहीबार मतदान हुने छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ५२ प्रकारका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ गएका छन् ।

निर्वाचनका लागि डोटीमा ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार जिल्लाभर १ सय ८१ जना मतदान अधिकृत, १ सय ८१ जना सहायक मतदना अधिकृत र सहयककर्मचारीमा ५ सय  ४३  जना कर्मचारी खटाइएको छ । यसका साथै, निर्वाचनको अनुगमन र आकस्मिक व्यवस्थापनका लागि  निर्वाचन क्षेत्रमा सहसचिव र उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा २ जनाको ‘घुम्ती टोली’ समेत परिचालन गरिएको छ ।

१ क्षेत्र रहेको डोटीमा यस पटक कूल १ लाख २८ हजार ३ सय ९९ जना मतदाता रहेका छन् । ९ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले अबको दुई दिन सर्वदलीय बैठक गर्ने निर्वाचन कार्यालय डोटीका प्रमुख करुणाकर पन्तले जानकारी दिए । उनले भने, 'मतदान केन्द्र निर्माण गर्नेलगायतका अन्तिम तयारीका कामहरू गर्ने छन् । आगामी बिहीबार बिहानैदेखि देशभर एकैसाथ मतदान सुरु हुने कार्यक्रम छ ।'

मोहन

Link copied successfully