जिल्लाका एक अस्थायीसहित २ सय १५ मतदान केन्द्रमा मतपत्र र निर्वाचन सामग्रीसहित मतदान गराउने कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बैतडी — आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी बैतडीमा अन्तिम चरणमा पुगेको छ ।
जिल्लाका एक अस्थायीसहित २ सय १५ मतदान केन्द्रमा मतपत्र र निर्वाचन सामग्रीसहित मतदान गराउने कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सबै मतदान केन्द्रमा कर्मचारीहरू पुगेर आवश्यक तयारी गरिरहेका उनले बताए ।
मतदान केन्द्रमा खटाएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायतले निर्वाचनसम्बन्धी आवश्यक कामहरू गरिरहेका निर्वाचन अधिकारी भारतीले बताए ।
मतदान केन्द्रमा कर्मचारीहरूले सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गरिसकेका छन् । धेरैले मतदानस्थल निर्माण पनि गरिसकेका छन् भने बाँकीले निर्माण गरिरहेकाले अहिलेसम्म निर्वाचनको तयारी ९५ प्रतिशत पूरा भइसकेको निर्वाचन अधिकारी भारतीले बताए ।
प्रतिनिधिसभाका लागि बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् । यस्तै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाभरि २ हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
