सडकको माग गर्दै रामारोशन गाउँपालिका अगाडि युवाले थाले अनसन

तल्लो पातल क्षेत्रमा सडक सुविधा नभएको भन्दै उनी खाली खुट्टा पैदल हिँडेर गाउँपालिका केन्द्र पुगेपछि अनसन सुरु गरेका हुन् ।

फाल्गुन १६, २०८२

मेनुका ढुंगाना

Youths begin hunger strike in front of Ramaroshan Rural Municipality demanding a road

What you should know

अछाम — अछाम–अछामको रामारोशन गाउँपालिकाका एक युवाले विकास निर्माण तथा सुशासनसम्बन्धी विभिन्न माग राख्दै रामारोशन गाउँपालिकाको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । 

रामारोशन गाउँपालिका–५ तल्लो पातल का २४ वर्षीय तिलक बहादुर बटालाले शुक्रबार साँझ ६ बजेदेखि अनसन थालेका हुन् । तल्लो पातल क्षेत्रमा सडक सुविधा नभएको भन्दै उनी खाली खुट्टा पैदल हिँडेर गाउँपालिका केन्द्र पुगेपछि अनसन सुरु गरेका हुन् ।

रामारोशन गाउँपालिका–५ तल्लो पातल निवासी २४ वर्षीय बटालाले शुक्रबार साँझ ६ बजेदेखि अनसन थालेका हुन् । ‘तल्लो पातल क्षेत्रमा सडक सुविधा छैन । खाली खुट्टा पैदल हिँडेर गाउँपालिका केन्द्र पुगेर अनसन सुरु गरेको हुँ । रामारोशनका जनताको लागि नौ बुँदे माग राखेको छु,’ उनले भने ।

तल्लो पातलमा सडक निर्माण, रामारोशन पर्यटन क्षेत्रको व्यवस्थापन, जयगढ–रामारोशन पर्यटकीय सडकको कालोपत्रे कार्य सम्पन्न गर्नुपर्ने, दुर्गम बस्तीमा सडक सञ्चालन, कर्मचारीतन्त्रको मनपरी अन्त्य, योजना खरिद–बिक्री रोक्नुपर्ने, विकास बजेटबाट अनावश्यक कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने, शिक्षा सेवाको पहुँच विस्तार तथा सेवाग्राहीप्रति जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनका मुख्य माग छन् ।

‘तल्लो पातलमा सडक खै ?रामारोशन पर्यटन क्षेत्र कहाँ पर्छ, यसको व्यवस्थापन खै ? जयगढ रामारोशन पर्यटकीय सडक कालोपत्रमा अलपत्र किन ?’ उनले प्रश्न गरेका छन् ,‘आढेखाँद र अलेडीमा पनी वस्ती छ र ? यताको भोट चल्ने सडक किन नचल्ने ? कर्मचारीको मनपरीतन्त्र कसका लागि ?’

योजना योजना खरिद विक्रि भइरहेको भन्दै उनले त्यस्ता क्रियाकलाप रोक्न पनि आग्रह गरेका छन् ।  रामारोशन गाउँपालिकामा विकासका लागि आएको बजेटले कर्मचारी भर्ना गर्ने प्रवृति रहेको उनले बताए । ‘शिक्षा  कता पाईन्छ ? सेवाग्राही प्रतिको जफावदेहीता खोई ? यी प्रश्नको उत्तर र माग सम्बोधन नभएसम्म आमरण अनसन जारि रहने छ,’ उनले भने ,‘भोट चल्ने, सडक नचल्ने , मत लिने बेला सडक पुग्ने ,मत दिइसकेपछि  नपुग्ने? मागेको भिक होइन, अधिकार हो ।’

अनसनस्थलमा उनले शरीरमा राष्ट्रिय झण्डा बेरेका छन् भने अगाडि नेपालको संविधान राखेर शान्तिपूर्ण दबाबमूलक आन्दोलन गरिरहेका छन् । जनताले वर्षौंदेखि भोग्दै आएका आधारभूत समस्या समाधान गराउनकै लागि संघर्ष भएको उनले बताए ।

सामाजिक अभियन्ताका रूपमा परिचित बटाला ऐना फाउन्डेशनका संस्थापक अध्यक्षसमेत हुन् । यस विषयमा गाउँपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन । स्थानीयवासीले भने लामो समयदेखि भौतिक पूर्वाधार र सेवा प्रवाहमा समस्या भोग्दै आएको बताउँदै आन्दोलनप्रति चासो व्यक्त गरेका छन् । जिल्लास्थित रामारोशन क्षेत्रमा विकास निर्माणका काम सुस्त भएको गुनासो यसअघि पनि उठ्दै आएको थियो ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully