कैलालीको चुरे फेदमा अवैध उत्खनन्, सवारीसाधनसहित ५ जना नियन्त्रणमा

चुरे गाउँपालिका–४ मा पर्ने अधेरी खोलामा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गस्तीमा गएको वन कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

फाल्गुन ७, २०८२

टेकराज जोशी

Illegal excavation in the foothills of the Chure Mountains in Kailali, 5 people with vehicles taken into custody

What you should know

धनगढी — कैलालीको चुरे फेदमा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गरिरहेको अवस्थामा वन कार्यालयको टोलीले पााच जनालाई सवारीसाधनसहित पक्राउ गरेको छ ।

चुरे गाउँपालिका–४ मा पर्ने अधेरी खोलामा भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गस्तीमा गएको वन कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बनबेडाका २८ वर्षीय ट्याक्टर चालक रमेश चौधरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका २८ वर्षीय टिप्पर चालक कनैया राना, बर्दियाको बासगढी नगरपालिका–६ दमौली बस्ने २५ वर्षीय टिप्पर चालक वीरजन थारु, शुक्लाफाँटा–४ असैनाका टिप्पर चालक कृष्ण राना तथा धनगढी उपमहानगरपालिका–७ बेलीका २७ वर्षीय भ्याकु लोडर चालक शिवचरण चौधरी रहेका छन् ।

अवैध उत्खनन्मा प्रयोग गरिएको एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एउटा ट्याक्टर समेत बरामद गरिएको छ । पक्राउ परेका पाँचै जना डिभिजन वन कार्यालय कैलालीको हिरासतमा छन् । 

डिभिजन वन कार्यालय कैलालीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे क्षेत्रमा अवैध उत्खनन् तथा काठ तस्करी भइरहेको सूचनाका आधारमा गस्ती गर्दा उनीहरूलाई पक्राउ गरिएको बताए । वातावरणीय परीक्षण नगरिएका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार निषेध रहेको उनले बताए ।

वन ऐनअनुसार यसरी अवैध उत्खनन् गरेमा बिगो बमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै ठाकुरले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जानकारी दिए । ‘अवैध उत्खननसँगै त्यस क्षेत्रमा वन फँडानी गरी तस्करीसमेत भइरहेको पाइएको छ,’ वन अधिकृत ठाकुरले भने, ‘केही दिनअघि सोही क्षेत्रबाट १२ वटा खयरका रूख काटिएको अवस्थामा भेटिएको थियो भने हालै एउटा सालको रूख समेत काटेर लगिएको पाइएको छ ।’

महाभारत श्रृंखला र तराईलाई जोड्ने संवेदनशील भौगोलिक क्षेत्रका रूपमा रहेको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन्ले वातावरणीय जोखिम बढाउँदै लगेको वन कार्यालयको निष्कर्ष छ । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने वन कार्यालयले चेतावनी दिएको छ ।  

टेकराज जोशी जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully