कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडी र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जना महिलाको मृत्यु भएको हो ।
कैलाली — कैलालीमा वडा अध्यक्षले चलाएको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडी र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जना महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की करिब ३३ वर्षीया इप्सा चौधरीको ज्यान गएको हो । सख्त घाइते भएकी चौधरीलाई उपचारका लागि धनगढी ल्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना कैलारी गाउँपालिकाको हसुलियास्थित इलाका प्रहरी कार्यालय नजिक भएको हो ।
वडा अध्यक्ष बमले चलाएको भे १ च ४२७५ नम्बरको महिन्द्रा कोरेक्स र से ५ प २७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा वडा अध्यक्ष बमसहित कैलारी गाउँपालिका–७ भुइँयाफाँटाका ५० वर्षीय ताराप्रसाद चौधरी, ३१ वर्षीय कमलेश चौधरी र ३४ वर्षीय बलिराम चौधरी घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
